प्रदेश संसद बैठकमा दुईवटा विधेयक पारित

आइतबार, २५ चैत्र २०७४, १९ : २९
प्रदेश संसद बैठकमा दुईवटा विधेयक पारित

फाइल फोटो

हटौँडा । प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ ।

आज अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो । त्यसैगरी, ११ औं बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी तीनवटा विधेयक संसदमा प्रस्तुत गर्नुभयो । त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो ।

विशेष समयमा राजधानीको मुद्दा
संसदको विषेश समयमा बोल्नेक्रममा सांसदहरूले प्रदेशको राजधानीको नामाकरण र स्थान छिटो तोक्नुपर्ने, भूकम्प पीडितको राहत र बलात्कार लगायतको बिषयमा बोल्नुभएको थियो । बैठकमा प्रदेशसभा सदस्य रिया केसी, केशव पोखरेल र केशवराज पाण्डेले प्रदेशको राजधानी र नामकरण छिटो तोक्न बैठकमा आग्रह गर्नुभयो । उहाँहरू तीनजनाले नै राजधानी हेटौंडा अथवा जहाँ तोकिए पनि स्वीकार्य हुने बताउनुभयो ।

सांसद रिता माझीले हिन्दुहरूको पर्वमा बिदा कटौती गरिएको तर क्रिस्मशलाई कटौती नगरिएकोमा आपत्ति जनाउनुभयो । सांसद रिना गुरुङले सरकारले वर्षा लाग्नु पहिले नै विपद् व्यवस्थापनको तयारी तथा सडक निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामलाल महतोले चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु संरक्षण ऐन–२०२९ खारेज वा संशोधनको माग गर्नुभयो । सांसद रिया केसीले बलात्कारका घटना हुन नदिन प्रदेश सरकार गम्भीर हुनुपर्ने र दोषीलाई फाँसीको सजाय हुनुपर्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस