किसानलाई व्यावसायिक बनाउने अभियान सुरु

रासस

बुधबार, १९ जेठ २०७८, १३ : २२

बागलुङ।बागलुङको ताराखोला गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने अभियान थालेको छ ।परम्परागत उत्पादनलाई प्रविधिको प्रयोगमार्फत व्यावसायिक बनाउने अभियान थालिएको हो । गाउँपालिकाले चालु वर्ष आर्थिक वर्षमा ३८ वटा उच्च प्रविधिका हरित गृह हाइटेक टनेल निर्माण गरेर किसानलाई व्यावसायिक बनाउने भएको हो । 

सङ्घीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेडाँ मैसमी तथा बेमौसमी तरकारी लगाउने अभियान शुरु भएको हो । चालु वर्षभित्रै व्यावसायिक किसानको बारीमा तरकारी उत्पादन शुरु गर्ने र आगामी वर्ष बजारीकरणको अभियान पनि थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।“प्रविधि गाउँपालिकाको सीप किसानको प्रयोग हुन्छ”, घर्तीले भने “यो वर्ष अभियान सबै वडामा पुगेको छ, अर्को वर्षबाट हाम्रो उत्पादन बजारीकरणको काम हुन्छ ।” 

 गाउँपालिकाले माटो सुहाउँदो बालीका लागि किसानलाई प्राविधिक सल्लाह दिने गरेको छ । गोलभेँडा र तरकारीमा गाउँपालिका आत्मानिर्भर बन्ने र आम्दानीको स्रोत बनाउने अभियान छ । “प्रविधियुक्त सीप हस्तान्तरण कार्यक्रमअन्तर्गत यो योजना भित्र्याइएको हो”, घर्तीले भने, “किसानलाई पनि व्यावसायिक बनाएर घरघरमा कमाई गर्न सक्ने बनाउने लक्ष्य छ ।” गाउँपालिकाको घरघरै उद्यमी अभियानमा यो कार्यक्रम थप भएपछि कम्तीमा ४० जनाभन्दा बढी किसान व्यावसायिक बन्ने उनले बताए । “पहिले किसान स्वरोजगार हुन्छ, त्यसपछि किसानको उत्पादनसँग अन्य रोजगारी जोड्ने अभियान छ”, घर्ती भन्छन्, “कृषिबाट नै उन्नति गर्ने हाम्रो अभियान हो ।” 

  पहिलो चरणमा वडा नं १ को भुस्कात र माझखर्कमा तीनरतीन, ४ को लाभाङमा १६ तथा ५ को करिमेलामा १६ वटा हरितगृह हाइटेक टनेल स्थापना हुनेछन् । त्यसका लागि काम थालिसकिएको हो । हरितगृह हाइटेक टनेल  खेतीका लागि गाउँपालिकको कृषि शाखाले प्राविधिक सहयोग गर्नेछ । प्रविधिमा आधारित नमूना कृषि फार्म अनुदान कार्यक्रममार्फत बजेट आएको उनले जानकारी दिए । 

 यहाँ उत्पादित फसललाई गलकोट, बागलुङसहितका बजारमा पठाउने योजना पनि गाउँपालिकाले बनाएको छ । घरघरमा किनेर खान नपर्ने व्यवस्था गर्ने, पालिकाभित्रै चिस्यान केन्द्र स्थापना गरेर बेमौसममा पनि तरकारी बाहिर ल्याउन सक्ने बनाउनेलगायत योजना उनले सुनाए । कृषिको उत्पादनबाट ताराखोला गाउँपालिका आत्मनिर्भर बन्ने अभियान भने केही समयअघि शुरु भइसकेको थियो ।
 

प्रतिक्रिया दिनुहोस