बायोग्यास भिलेजमा बाबा ग्यासको बिगबिगी

शुक्रबार, २३ चैत्र २०७४, ०९ : ००
बायोग्यास भिलेजमा बाबा ग्यासको बिगबिगी

सूर्यप्रकाश कँडेल
चितवन । तत्कालीन कुमरोज गाविस, हालको खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ करिब पाँच वर्षअघि नेपालकै पहिलो नमुना बायोग्यास भिलेज घोषणा गरियो । यी दुई वडामा एक हजार नौ सय घरधुरी बसोबास गर्छन् । सिंगो कुमरोजलाई वायोग्यास भिलेज घोषणा गरेपनि अहिले कुमरोजका २५ प्रतिशत घरमा बायोग्यास नै छैन ।
खैरहनी नगरपालिका वडा नम्बर १२ सिसहनीमा घर छ सावित्री बर्तौलाको । उक्त घरको भान्सामा बायोग्यास जोडिएको छैन । त्यसको ठाउँ लिएको छ बाबा ब्राण्डको एलपीजी ग्यास सिलिण्डरले । उहाँका छिमेकीहरुको भान्सामा पनि यही ब्राण्डको एलपीजी ग्यासको सिलिण्डर नै देख्न पाइन्छ । जग्गा अभाव भएकोले भान्सामा बायोग्यास जडान नगरेको उनीहरुको भनाइ छ ।
‘दस धुरमा घर छ’ बर्तौलाले भन्नुभयो, ‘गोठ बनाउने ठाउँ छैन । बस्तुभाउ पनि छैनन् । त्यसैले बाबा ग्यास प्रयोग गरेका छौं ।’ उहाँकी छिमेकी विष्णुमाया बर्तौलाले पनि गाइबस्तु नभएको कारण बायोग्यास राख्न नसकिएको बताउनु भयो । सोही ठाउँकी शान्ति चौधरी पनि जग्गा अभावमा गोबरग्यास राख्न नसकेको बताउनु हुन्छ । श्रीमान् कामको सिलसिलामा धेरैजसो घर बाहिरै हुनुहुन्छ, उहाँले भन्नुभयो, घरमा आमा र छोरामात्र हुन्छौं धेरै । दुई जनालाई के लेठा गर्नु भनेर सिलिण्डर ग्यास जोडेकी छु भान्सामा ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङ ८० प्रतिशतभन्दा कम घरमा बायोग्यास रहेको स्वीकार्नु हुन्छ । परिवारमा सदस्य संख्या कम भएको, गाइबस्तु नपालेको र जग्गा थोरै हुनेहरुले अझैपनि बायोग्यास नजोडेको उहाँले बताउनु भयो । उहाँका अनुसार कुमरोज गाउँमा पहिलोपटक दुई दशकअघि मुकुन्द भट्टराईले पुरानो मोडलको गोबरग्यास जडान गर्नु भएको थियो ।
वनका अध्यक्ष गुरुङको भान्साघरमा नयाँ मोडलबाट बनाइएको ६ घनमिटरको बायोग्यास प्लान्ट जडान गरिएको छ । उहाँको भान्साघरमा बाबा ग्यासको सिलिण्डर पनि छ । गुरुङ परिवारकी सदस्य सिरिमाया गुरुङले बायोग्यासले मात्र नपुग्ने भएकोले सिलिण्डर ग्यास पनि जोडेको बताउनु भयो । भान्सामा ढिँडो ओडल्दै गर्नु भएकी सिरिमायाले बायोग्यासको ज्वाला राम्रोसँग नबल्ने भएकोले सिलिण्डर ग्यास प्रयोग गर्नु परेको जवाफ दिनुभयो ।
‘सरकारी मापदण्ड अनुसार ८० प्रतिशत घरधुरीमा बायोग्यास राखिएको अवस्थामा त्यस ठाउँलाई बायोग्यास भिलेज घोषणा गर्न सकिन्छ’ राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका मुख्य रेञ्जर ऋषि सुवेदीले भन्नुभयो, ‘यही मापदण्ड पूरा गरेको आधारमा औपचारिक समारोहबीच कुमरोजलाई बायोग्यास भिलेज घोषणा गरिएको थियो ।’ अहिले केही घरधुरीमा जग्गा अभावको कारण बायोग्यास निर्माण नभएको अवस्था छ ।
बायोग्यास भिलेज घोषणा गर्ने बेलामा संख्या पु¥याउनकै लागि चार वर्षअघि धमाधम बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । त्यसपछि आवश्यक मर्मत सम्भार र प्रयोगकर्ताको समस्याबारे अनुगमन नहुँदा पुराना केही बायोग्यास प्लान्ट अहिले प्रयोगमा छैनन् । नयाँ घरधुरीमा बायोग्यास प्लान्ट जडान गर्ने वा गर्न लगाउने कामले गति नपाउँदा बायोग्यास भिलेज यतिबेला बाबा ग्यास भिलेज बन्ने खतरामा परेको छ ।
 

प्रतिक्रिया दिनुहोस