जनता समाजवादीले बोलायो संसदीय दलको बैठक

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १० : ०१
जनता समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । राजनितिक डिस्कोर्स फेरिएसंगै जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । 

बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएले बैठकमा सबैलाई बोलाईएको बताए । 

पछिल्लो समय ठाकुरमहतो समूहमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् । आफुहरुको माग पुरा गरेको भन्दै जसपाको ठाकुर महतो समूह प्रधानमन्त्री ओलीलाई सघाउने पक्षमा रहेका छन् भने उता प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई उपेन्द्र यादव समूहले भने विरोध गरिरहेका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातारात प्रतिनिधिसभा समाप्त पार्न राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक कदम उठाएको बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर अडिग रहे उनी प्रधानमन्त्री बन्ने सम्भावना जीवित रहेको यादवको भनाइ छ ।

‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्‍यो । सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि शुक्रबार हामी छलफल गर्छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस