एमाले स्थायी कमिटीको बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : ५०
एमाले स्थायी कमिटीको बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

काठमाडौँ । प्रधानमन्त्री निवास वालुवाटारमा केहीबेरअघि नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ।  बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ । 

एमाले स्थायी कमिटी एक नेताका अनुसार पार्टीको पछिल्लो अवस्थामा छलफल केन्द्रित हुनेछ । उनका अनुसार राष्ट्रिय सभाको उपचुनावबारे पनि छलफल हुनेछ । यसबाहेक पार्टी एकतामा देखिएको ढिलाइ, कार्यदलको छलफलका विषयमा पनि छलफल हुनेछ । 

एमाले पार्टी भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटकमात्रै बसेको छ। पार्टी एकतामा कार्यदलको भूमिकाको विषयमा छलफल हुने अर्का नेता बताउँछन् । तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको छ ।  कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ।

राष्ट्रिय सभाको उपनिर्वाचनलाई समेत मध्यनजर गरेर आजको स्थायी कमिटीको बैठक बोलाइएको हो। राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षरले आ आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्। ओलीले बादललाई भोट हाल्न ह्विप लगाएका छन् । माधव नेपाल पक्षले ह्विप नमाने पार्टी एकतामा दरार आउने देखिएको छ । 

नेपालका तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। बागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ। बादलको जित हारले एमालेको एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन्। 

प्रतिक्रिया दिनुहोस