भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित थपिए

एजेन्सी

शनिबार, ०१ जेठ २०७८, ११ : १४
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको इपिसेन्टर बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित थपिएका छन्।

सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८९० जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै संक्रमण मुक्त भएर घर फर्किएका छन्।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ। भारतमा कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ।

कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २०७ जनाको ज्यान गएको छ। भारतमा हालसम्म १८ करोड चार लाख ५७ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

अघिल्लो दिन भारतमा ३ लाख ४३ हजार १४४ जना नयाँ संक्रमित थपिएका थिए भने चार हजार जनाको मृत्यु भएको थियो।