अक्सिजनसहित सय शय्याकोे आइसोलेशन बनाउँदै प्रदेश सरकार

रासस

शुक्रबार, ३१ बैशाख २०७८, १७ : १३
अक्सिजनसहित सय शय्याकोे आइसोलेशन बनाउँदै प्रदेश सरकार

गलकोट । धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन रकम निकासा गरेको जनाएको छ । 

धौलागिरि अस्पतालमा अहिले ३७ सङ्क्रमितको उपचार भइरहेको छ तर अस्पतालको आइसोलेशन क्षमता भने जम्मा २५ शय्याको छ । त्यससँगै तीन आइसीयु र दुई भेन्टिलेटर मात्रै छन् । जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा अस्पतालमा शय्या अभाव र अवस्था थप जटिल भएपछि केहीलाई पोखरा काठमाडौँ हेलिकप्टरमार्फत पठाइएको छ भने कम समस्या भएका बिरामीलाई बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ।छत्तीस शय्याको अक्सिजनसहितको रातमाटाको आइसोलेशनमा अहिले आठ सङ्क्रमित रहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । 

अस्पतालमा अक्सिजनसहितको थप १०० शय्या सेवा विस्तारका लागि प्रदेश सरकारले यही वैशाख २७ गते रु ६० लाख निकासा गरी अख्तियारी पठाएको सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसीले बताए । उनले अस्पतालमा तत्कालका लागि कोरोना नियन्त्रण गर्न उक्त रकम निकासा गरेको पत्र अस्पतालमा पठाएका थिए । पत्र प्राप्त भई कार्यान्वयनको तयारी थालेको अस्पतालले जनाएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष सञ्चालक समितिको निर्णयानुसार अस्पतालमा पिसिआर परीक्षणको दायरा बढाउन, शय्या व्यवस्थापन तथा निर्माण, अक्सिजन मर्मत र जडानका लागि रु ६० लाख विनियोजन भएर अख्तियारी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस