लन्डन । नेपालमा कोरोना भाइरसको दोश्रो लहरले विकराल रुप लिइरहँदा बेलायत र स्विस सरकार नेपाललाई सहायता पठाउन अन्तिम गृहकार्य गरिरहेको सम्बन्धित देशका राजदूतले जानकारी दिएका छन् ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल सरकारको निर्देशनअनुसार खोपसहितका अन्य अत्यावश्यक सहयोगका लागि बेलायत सरकारसँग सहयोग माग गरिएको जानकारी दिए ।
‘नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायतसमक्ष विशेष सहयोग माग गरिएको छ’ उनले भने, ‘हाम्रो आग्रहमा बेलायतको उच्च सरकारी तहबाट सकारात्मक ‘रेस्पोन्स’ प्राप्त भएको छ, हामी छिट्टै सहायता जानेमा विश्वस्त छौं ।’ दूतावासले अक्सिजन कन्सन्ट्रेटर मेसिनलगायत स्वास्थ्य सामग्रीमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
स्विजरल्याण्डका लागि नेपाली राजदूत मणि भट्टराईले स्विस सरकारले एक साताभित्र स्वास्थ्य सामग्री पठाउने तयारी गरेको जनाए ।मंगलबार विदेश मामिलासम्बन्धी संघीय विभाग एफडीएफए स्विजरल्याण्डको एसिया प्यासिफिक डिभिजनका प्रमुखसँगको भेटमा सो प्रतिबद्धता आएको उनले जानकारी दिए ।
राजदूत भट्टराईले काठमाडौंस्थित स्वीस दूतावासले स्विस मेडिकल सामग्री पारवहनका लागि नेपालको परराष्ट्र मन्त्रालयका युरोप अमेरिका डिभिजनसँग समन्वय गरिरहेको पनि बताएका छन् ।उनले विश्व स्वास्थ्य संगठन र जेनेभास्थित अन्तर्राष्ट्रिय रेडक्रस महासंघसँग पनि अत्यावश्यक मेडिकल सामग्री आपूर्तिका लागि पहल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३१ बैशाख २०७८, १६ : ४३
लेखकबाट थप