जनता समाजवादीमा विवाद कायमै

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०८ : ३२
जनता समाजवादीमा विवाद कायमै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो । 

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिएका छन् । ‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले राजधानीसंग भन्यो, ‘तर, उहाँहरूको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो ।

अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’ बैठकमा डा. भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । शीर्षनेता बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ । अहिले ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल होला ?’ भन्ने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकेको स्रोतले बतायो ।

सरकार निर्माण विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्ने बेला बैठक नै नबस्ने अवस्थाले पार्टी अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि, तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस