अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

एजेन्सी

सोमबार, १३ बैशाख २०७८, १४ : २४
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

काबुल ।अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताएका छन् । उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिएका छन् ।
  
अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताए । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए। 

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताएका छन् । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गरेका थिए ।अमेरिकाको वल्र्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल–कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो ।

जनरल मिलरले काबुलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले तालिबान समूहका जिम्मेवार सदस्यहरुलाई देशभित्र हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेको बताए । यदि हिंसात्मक गतिविधि पुनः शुरु भए त्यो अफगानी जनता र देशकै लागि दुर्भाग्यपूर्ण हुने सन्देश आफूले तालिबानी नेताहरुलाई दिएको पनि जानकारी दिए ।तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिबानीको सत्ता पतन भएको थियो । 

सन् २०२० मा तालिबानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्व निर्धारित कार्यसूची रहेको छ । जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडाहरु अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिए।(रासस–एपी)
 

प्रतिक्रिया दिनुहोस