भारतमा फेरि अक्सिजनको अभाव , अवस्था पहिलाको भन्दा गम्भीर बन्दै

एजेन्सी

आइतबार, १२ बैशाख २०७८, १४ : ४१
भारतमा फेरि अक्सिजनको अभाव , अवस्था पहिलाको भन्दा गम्भीर बन्दै

काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए ।

अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो ।

यस्तो दुःखद् घटना दिल्लीका प्रमुख अस्पतालमा अक्सिजन अभाव हुँदै गएको समाचारसँगै सार्वजनिक भएको हो । शुक्रबार बिहान गंगाराम अस्पतालमा थप ६० जना बिरामी मृत्युको मुखमा छटपटाइरहेको अवस्थामा एक अक्सिजन ट्यांकर आइपुग्यो । यद्यपि कोरोनाको नयाँ लहरले भारतको सबैभन्दा सम्पन्न शहर पनि अहिले स्वास्थ्य संकटमा देखिएको छ ।

अहिले भारतका महाराष्ट्र, गुजरात, हरियाणा र मध्यप्रदेशमा अक्सिजनको अभाव देखिएको छ । उत्तरप्रदेशमा पनि केही अस्पतालमा मात्रै अक्सिजन बाँकी नरहेको समाचार आउन थालेको छ ।

उत्तरप्रदेशको राजधानी लखनऊका अस्पतालले बिरामी लिन छाडेका छन् । राजधानी शहर दिल्लीमा पनि साना अस्पताल र नर्सिङ होमले बिरामी लिन छाडिसकेका छन् । भारतका केही शहरमा बिरामीका आफन्तहरू अक्सिजन रिफिलिङ सेन्टरमा अक्सिजनको लागि लाइनमा देखिन थालेका छन् । हैदराबादमा अक्सिजन लिन आउनेको भिड मिलाउन बाउन्सर समेत राखिएको छ ।

कोरोना संक्रमित धेरै बिरामीको अक्सिजन पाउनुभन्दा पहिला नै मृत्यु हुन थालेको छ । अस्पतालमा श्वासप्रश्वासको समस्या भएका धेरै बिरामीहरू आउन थालेका छन् । जसको कारण आईसीयू बेडको अभाव छ । बेड पाउने भाग्यशालीलाई पनि अक्सिजनको अभावका कारण बचाउन सकिएको छैन । सामाजिक सञ्जालहरूमा मानिसहरूले अक्सिजन सिलिण्डरको माग गरेका धेरै पोस्ट देख्न सकिन्छ ।

भारतमा अक्सिजन अभाव देखिएको यो पहिलोपटक भने होइन । सात महिनाअघि पनि भारतमा अक्सिजन अभावको समस्या देखिएको थियो । यद्यपि यसपटकको अवस्था पहिलाको भन्दा खराब छ ।

प्रतिक्रिया दिनुहोस