भारतका अस्पतालमा अक्सिजनको हाहाकार, एकै दिन तीन लाख कोरोना संक्रमित

एजेन्सी

आइतबार, १२ बैशाख २०७८, ०९ : १२
भारतका अस्पतालमा अक्सिजनको हाहाकार, एकै दिन तीन लाख कोरोना संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । भारतमा पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् । मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ। दैनिक दुई हजारको हाराहारीमा मृतक संख्या रहेको छ । 

मृतकको संख्या बढेपछि दिल्लीका अन्तिम संस्कार गर्ने ठाउँको अभाव भएको छ। भारतका अस्पतालहरु कोरोनाका बिरामीले खचाखच भरिएका छन् । बिरामीलाई अक्सिजनको अभाव भइरहेको छ । अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुनय र विनय गरेका छन्।

उत्तरी भारतमा अस्पतालहरू सञ्चालन गरिरहेको म्याक्स हेल्थकेयरले  शनिबार ट्वीट गर्दै आफूसँग दुई घन्टालाईमात्र पुग्ने अक्सिजन भएको जनाएको थियो। त्यस्तै फोर्टिस हेल्थकेयरले अक्सिजन नभएकाले दिल्लीका आफ्ना अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने जनाएको छ।

केही अस्पतालहरूले ब्याकअपका लागि राखेको अक्सिजन दिएर धानेका छन्। सरकारले टाढाटाढाबाट दिल्लीमा अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल पठाएको छ। सिंगापुरलगायत देशबाट पनि भारतले अक्सिजन ल्याउन लागेको छ।

श्वासप्रश्वासमा समस्या हुने भएकाले कोरोनाले गलेका बिरामीलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्छ। एकै समयमा धेरै बिरामीलाई भेन्टिलेटरमा राख्दा अक्सिजनको अभाव भएको हो। 

प्रतिक्रिया दिनुहोस