अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि सुरक्षाको चर्चा

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, १४ : ३८
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि सुरक्षाको चर्चा

काठमाडौं । अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क सहरमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा पनि सैन्य हस्तक्षेप शुरु भएको थियो । त्यो कामको अगुवाई गरेको अमेरिकाकै नेतृत्वमा अफगानिस्तानमा पनि सेना पुगेको थियो ।  

हप्ता दिन अघि यस्तो संयोग थियो कि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले २० वर्षअघि ह्वाइट हाउसको जुन हलबाट विश्वमा आतंकवाद विरुद्धको युद्धको घोषणा गरेका थिए। सोही हलबाट राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता गर्ने घोषणा गर्नुभयो । यसरी अमेरिकामा प्रवेश गरेका नेटो सैनिकलाई उनीहरु त्यहाँ पठाइएको २० औँ वर्षगाँठ पारेर फिर्ता गर्न लागिएको हो । 

यो घोषणाले अमेरिकी कूटनीतिक वृत्तमा नयाँ बहस शुरु भएको बताइएको छ । कतिपयले यसलाई विवादास्पद पनि भनेका छन् । आंतकवादका विरुद्धमा अफगानिस्तानमा के पर्याप्त सुरक्षा छ भन्ने प्रश्न पनि अहिले उठेको छ । एकातर्फ अफगान सरकार तथा तालिबानबीचको शान्ति प्रक्रिया शुरु भएको भए पनि टुंगोमा पुग्न सकेको छैन । यो शान्ति वार्ता सफल भएपछि अमेरिकी सेना फर्कने कुरामा सहमति भएको भए राम्रो हुने बताइएको थियो । तर त्यो सम्भव हुन सकेन ।  

अमेरिकामा केही महिना मात्र अघि त्यहाँको अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदनले अन्तर अफगान शान्ति सम्झौता बिना नै सेना फर्काउँदा केही वर्षभित्र नै काबुलमा अहिलेको सरकार नरहने र यसले गर्दा फेरि देशमा अल कायदाको उदय हुन पनि सक्ने देखाएको थियो । त्यसैले पनि कतिपयले यो अवस्थाको बारेमा अहिले व्यापक विचार विमर्श गरिरहेका छन् । 

वर्तमान राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा सधैँ युद्ध मात्र गरिरहने होइन भन्ने पक्षमा रहेका थिए। त्यसैले पनि बाइडेनले सेनाको बर्हिगमनको समयसीमा अब नलम्ब्याउने बताउनुभएको हो । बाइडेन उनको प्रशासनले पूर्वी एशियामा बढ्दो सुरक्षा चुनौतीलाई पनि मनन् गर्नुभएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस