मुम्बईको एक अस्पतालको आइसीयूमा आगलागी हुँदा १३ कोरोना बिरामीको मृत्यु

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, १३ : २०
मुम्बईको एक अस्पतालको आइसीयूमा आगलागी हुँदा १३ कोरोना बिरामीको मृत्यु

भारत । कोभिडका बिरामी उपचाररत मुम्बईको एक अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार शुक्रबार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा यस्तो घटना भएको हो । दोस्रो लहरका कारण अस्पतालमा बिरामीको भीड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संक्रमित र मृत्यु संख्या अहिलेसम्मकै सर्वाधिक भएको बताइएको छ ।

शुक्रबार थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।महाराष्ट्र राज्यमा पर्ने मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो ।आगलागीको कारण खुलेको छैन ।मुख्यमन्त्रीले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुःखद भनेका छन्। मोदीले बढ्दो संक्रमणले स्वास्थ्य सेवामा दबाब परेपछि प्रभावित राज्यका मुख्यमन्त्रीसँग आज छलफल गरेका छन् ।भारतको उच्च न्यायलयले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ।

दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस