सूचनाको हकबारे पत्रकारले बोलिरहे, सूचना अधिकारीले सुनिरहे

शुक्रबार, १६ चैत्र २०७४, १४ : ४३
सूचनाको हकबारे पत्रकारले बोलिरहे, सूचना अधिकारीले सुनिरहे

चितवन । खचाखच भरिएको थियो जिल्ला प्रशासन कार्यालयको बैठक कक्ष । पहिलो पंक्तिमा थिए, ५५ वटा सरकारी कार्यालयबाट आएका सूचना अधिकारी । दोस्रो पंक्तिमा थिए, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार । सूचनाको हकबारे बोल्न र सुन्न उनीहरु जम्मा भएका थिए । कार्यक्रममा पत्रकारहरुले सूचनाको हकबारे बोलिरहे, सरकारी कार्यालयका सूचना अधिकारीहरुले सुनिरहे ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच सूचनाको हकबारे छलफल चलाएको थियो नेपाल पत्रकार महासंघ चितवन शाखाले । कार्यक्रममा सूचना अधिकारीहरुलाई उपस्थित गराउने काममा जिल्ला प्रशासन कार्यालयले समन्वय र आवश्यक सहयोग गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना अधिकारी सूचनाका स्रोत र पत्रकार सूचनाका संवाहक भएको बताउनु भयो । ‘हामी दुवैथरी सम्पूर्ण जनताका सेवक हौं’ उहाँले भन्नुभयो, ‘एकले अर्कोलाई सहजीकरण गर्नुपर्छ ।’ सूचनाको हक मौलिक हक भएकोले जनतासामु सूचना पु¥याउने कुरामा सूचना अधिकारी र पत्रकारबीच सुमधुर सम्बन्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सूचनाको हक र कार्यान्वयनको अवस्थाबारे अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले सूचनाको हक पत्रकारको मात्र नभई सबै जनताको हक भएको बताउनु भयो । यो कुरा जनतालाई बुझाउन आवश्यक देखिएको धारणा सुनाउँदै उहाँले सूचनाको हकको प्रभावकारी प्रयोगले आर्थिक अनियमितता, शक्तिको दुरुपयोग, सामाजिक विकृति अन्त्यका लागि टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सिर्जना अर्याल, जिल्ला उपाध्यक्ष नारायणप्रसाद अधिकारी, विभिन्न सरकारी कार्यालयका सूचना अधिकारी र चितवनमा कार्यरत पत्रकारहरुले सूचनाको हकबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस