युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी

आइतबार, २९ चैत्र २०७७, १२ : ४१
युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । 

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला छिन् भने मोहम्मद अल–मुल्ला पुरुष हुन।सन् १९९३ मा जन्मिनु भएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत हुन् । 

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनिहरु  दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ ।यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनि अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुने छिन्  । 

यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकि थिईन्।अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका थिए । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए।सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनि अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस