सोमबारबाट बेलायतमा लकडाउन सहज बन्दै, ६० प्रतिशतले लगाए खोप

एजेन्सी

बुधबार, २५ चैत्र २०७७, १० : ०४
सोमबारबाट बेलायतमा लकडाउन सहज बन्दै, ६० प्रतिशतले लगाए खोप

लन्डन ।आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउनलाई थप खुकुलो पार्ने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार दिएको आश्वासनले इंग्ल्याण्डवासी निकै उत्साहित बनेका छन् । बेलायतमा कोरोना संक्रमणको प्रभाव निरन्तर ओरालो लाग्दै गएपछि लकडाउन सहज हुनेमा थप बल पुगेको छ । पछिल्ला केहि दिनयता मृतक संख्या, संक्रमित संख्या र अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर कमी आएको छ ।

सोमबार सार्वजनिक तथ्यांक अनुसार बितेको २४ घन्टामा २० जना कोरोना संक्रमितको ज्यान गएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८८२ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार तीन सय ७९ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६४ हजार ५२९ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।

बेलायतमा ६० प्रतिशत वयस्कलाई खोपको पहिलो डोज दिइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार जानकारी दिएका छन् । यसैगरि १०।४ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाएको पनि उनले उनले बताए । कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७१ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७१ लाख १९ हजार ८३ डोज खोप वितरण भइसकेको छ । ।

तीन करोड १६ लाख २२ हजार ३६७ जनाले खोपको पहिलो डोज लिएका छन् भने ५४ लाख ९६ हजार ७१६ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस