फोटो फिचर

एसईई परीक्षार्थी मधुमायालाई महानगर प्रमुख दाहालले भन्नुभयो, राम्रोसँग परीक्षा दिनुहोला

बुधबार, १४ चैत्र २०७४, १५ : ३०
एसईई परीक्षार्थी मधुमायालाई महानगर प्रमुख दाहालले भन्नुभयो, राम्रोसँग परीक्षा दिनुहोला

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बुधबार बिहान उपप्रमुख पार्वती शाह ठकुरीसहित एसईई परीक्षा निरीक्षणमा निस्कनु भयो । सबैभन्दा पहिले भरतपुर महानगरपालिका १० स्थित चितवन माध्यमिक विद्यालय भरतपुर केन्द्रमा पुग्नु भएकी दाहालले त्यहाँ लेखन सहयोगीको साथमा रहेर परीक्षा दिँदै गर्नुभएकी मधुमाया पौडेललाई भेट्नु भयो । परीक्षामा सोधिएका प्रश्नको उत्तर लेखन सहयोगी दिवस लामिछानेलाई बताउँदै गर्नुभएकी मधुमायालाई महानगर प्रमुख दाहालले भन्नुभयो, राम्रोसँग परीक्षा दिनुहोला ।

नारायणी नमूना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी मधुमाया पौडेलले राम्रोसँग देख्न सक्नुहुन्न । अल्पदृष्टियुक्त मधुमायालाई उत्तर लेख्न सहयोगी बस्नु भएको छ, नारायणी नमूना माध्यमिक विद्यालयकै छात्र दिवस । मधुमाया पौडेलको एसईई सिम्बोल नम्बर ०३४६१२२‘जे’ रहेको छ ।

चितवन माविमा अन्य परीक्षार्थीहरुले परीक्षा दिएको निरीक्षण गरेपछि महानगर प्रमुख दाहालले परीक्षा केन्द्राध्यक्ष र जिल्ला शिक्षा कार्यालयका पदाधिकारीसँग छलफल समेत गर्नु भएको थियो । उक्त अवसरमा उहाँले परीक्षा मर्यादितरुपमा चलिरहेकोप्रति सन्तोष व्यक्त गर्नुभयो ।

चितवन माविपछि महानगर प्रमुख दाहाल र उपप्रमुख ठकुरीले भरतपुर महानगरपालिका ८ स्थित शरदपुर माध्यमिक विद्यालयमा पुगेर त्यहाँ पनि परीक्षार्थीहरुले परीक्षा दिएको निरीक्षण गर्नु भएको थियो । सम्बन्धित वडाका वडाध्यक्ष उहाँहरुको साथमा थिए ।

प्रतिक्रिया दिनुहोस