बङ्लादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

एजेन्सी

सोमबार, १६ चैत्र २०७७, २० : ३६
बङ्लादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौं । बङ्गलादेशमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ ।  सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । 

महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोनाभाइरसको महामारी सुरुभएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ ।  बङ्लादेशका कोरोनाभाइरसबाट अहिलेसम्म कूल छ लाख ८९५ जना सङ्क्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म बङ्लादेशमा पाँच लाख ३८ हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन् । 

प्रतिक्रिया दिनुहोस