म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने

एजेन्सी

शनिबार, १४ चैत्र २०७७, १३ : ५९
म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने

शनिबार म्यानमारको सेनाले १६ प्रदर्शनकारीलाई गोली हानेको समाचार एजेन्सी रोयटर्सले केही प्रत्यक्षदर्शी र स्थानीय मिडियामा प्रकाशित रिपोर्टलाई आधार बनाएर लेखेको छ ।

म्यानमारमा १ फेब्रुअरीमा भएको सैन्य कूपछि स्थानीयले भिन्न–भिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।अपदस्थ सांसदद्वारा बनाइएका सीआरपीएच नामक समूहका प्रवक्ता डाक्टर सासाले एक अनलाइन पोर्टलसँगको कुराकानीमा भने, ‘आज म्यानमारको सशस्त्र बलका लागि एउटा लज्जाको दिन हो । सैन्य शासकले ३०० भन्दा बढी निर्दोष नागरिक मारेपछि सशस्त्र सेना दिवस मनाइरहेको छ ।’

शनिबार यंगून शहरमा एक प्रहरी स्टेशन बाहिर प्रदर्शन गरिरहेकालाई सुरक्षा बलले गोलीबारी गर्दा चारजनाको मृत्यु भएको छ । यो घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।एक अन्य शहरमा प्रहरीले तीनजनालाई गोली हाने जसमा एक युवक पनि थिए जो स्थानीय अन्डर–२१ फुटबल टीमका लागि खेल्दथे ।यसबाहेक म्यानमारका लाशियो, बागो र होपिनमा पनि यस्तै प्रकारका घटना भए । यसमा कम्तीमा १६ प्रदर्शनकारी शनिबार मारिए ।

शनिबार नै म्यानमारका सैन्य प्रमुखले एक टिभी प्रसारणमा भने, ‘हामी जनतासँग हात मिलाउन चाहन्छौं ता कि देशमा लोकतन्त्रको सुरक्षा गर्न सकियोस् । देशमा भइरहेको हिंस्रक घटनाले जसलाई म्यानमारको स्थिरता र मानिसहरुको सुरक्षालाई प्रभावित गरिरहेको छ, त्यसमार्फत् अनावश्यक माग राखिएका छन् ।’

एक मुख्य सामाजिक संगठनका अनुसार म्यानमारमा सेनाविरुद्ध प्रदर्शनको क्रममा हालसम्म ३२८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस