इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

एजेन्सी

मंगलबार, १० चैत्र २०७७, १३ : ०७
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

सांकेतिक तस्विर

जेरुसलेम । इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निर्क्योल गर्नेछ । चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् । 

इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नु भएको छैन । उनीमाथिको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् ।

तर प्रधानमन्त्री नेतन्याहुले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आएका छन् ।प्रधानमन्त्री नेतन्याहुले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शनहरु पनि भएका थिए । (एएफपी)

प्रतिक्रिया दिनुहोस