बाइडेनको कोभिड राहत प्याकेज पारित, प्रत्येक नागरिकले १४ सय डलर पाउने

एजेन्सी

विहीबार, २७ फागुन २०७७, १२ : ३९
बाइडेनको कोभिड राहत प्याकेज पारित, प्रत्येक नागरिकले १४ सय डलर पाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसद्बाट पारित भएको छ ।

महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार यसैसम्बन्धी भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । तर, रिपब्लिकनहरु कसैले पनि यसमा समर्थन जनाएनन् ।

सिनेटबाट पारित भइसकेकाले अब यसलाई कानुनमा परिणत गर्न बाइडेनको हस्ताक्षर मात्र आवश्यक पर्नेछ । यो कोभिड प्याकेज पारित हुनुलाई बाइडेनको ठूलो उपलब्धि मानिएको छ । ह्वाइटहाउसका प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडेनले आगामी शुक्रबार नै यसमा हस्ताक्षर गर्नेछन् ।

यो प्रस्ताव ‘देशको मेरुदण्ड समान’ हुने बाइडेनले यसअघि बताएका थिए । नागरिकलाई यसले नयाँ हौसला र ऊर्जा दिने उनको भनाइ छ ।

प्रस्तावमा के छ ?
प्रस्तावमा अधिकांश अमेरिकी नागरिकहरुलाई सिधै १४ सय डलर बराबरको पैसा प्रदान गरिने भनिएको छ । त्यस्तै, बेरोजगारी भत्तालाई पनि वृद्धि गरी प्रतिहप्ता ३०० डलर पुर्‍याइएको छ ।

यस्तै, स्कुल खुलाउनका लागि १३० अर्ब डलरको कोष, कोभिड–१९ को परीक्षण तथा अनुसन्धानका लागि ४९ अर्ब र खोप वितरणमा १४ अर्ब डलर खर्च गरिने भनिएको छ । यसअघि, प्रस्तावमा न्यूनतम पारिश्रमिकलाई पनि ७।२५ डलरबाट बढाएर प्रतिघण्टा १५ डलर बनाउने भनिएको थियो । तर, यो भने सिनेटबाट पारित भएन ।

बाइडेन प्रशासनले यो राहत कोषलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ भन्ने कुराले उनको पहिलो कार्यकालको सफलता मूल्यांकन गर्ने बताइएको छ ।बीबीसी

प्रतिक्रिया दिनुहोस