जनता समाजवादीका नेतासँग प्रधानमन्त्री ओलीले किन मागे तीन महिना ?

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ०७ : ५५
जनता समाजवादीका नेतासँग प्रधानमन्त्री ओलीले किन मागे तीन महिना ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली नैतिक रुपमा अल्पमतमा परेपछि उनले आफ्नो सरकार टिकाउनका लागि अहिले अनेक दाउपेच चालिरहेका छन् । उनले विघटन गरिदिएको प्रतिनिधीसभा सर्वाेच्च अदालतले पूर्नस्थापना गरिदिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएर बाँकी संसदको अवधीमा अन्य दलका नेतालाई सरकार चलाउन दिनुपर्ने हो ।

आफैले मारिसकेको प्रतिनिधीसभामा अहिले आफै सरकार टिकाउन अनैतिक रुपले आवश्यक परे जसपालाई टुक्रयाएर भएपनि प्रयास गर्ने ओलीको रणनीतिले अहिले फेरि राजनीतिमा नयाँ सत्ता समिकरणको लागि दौडधुप जारी छ । यही क्रममा ओलीले जसपाका नेताहरु फकाउने पहिलो विकल्पमा छलफल घनीभूत बनाएका छन् ।

सर्वाेच्चले नेकपाको एकता बदर गरेर पूर्ववत रुपमा दुई ठूला कम्युनिष्ट पार्टीलाई ब्यूँताईदिने निर्णय गरेकै दिन प्रधानमन्त्रीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । जसपाले कैलाली १ वटा निर्वाचत सांसद रेशम चौधरीको रिहाई पहिले हुनुपर्ने विषयमा कुरा उठाएपछि त्यसमा पनि आफुहरु सकारात्मक रहेको सन्देश ओलीले दिएका छन् । सर्वोच्च अदालतमा चौधरीको मुद्दा आईपरेको र त्यहीबाट यो समस्याको समाधान खोजी गर्ने ओलीले बताएको स्रोतले बताएको छ ।

कानुनी प्रक्रिया के कसरी मिलाउने भन्ने विषयमा सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईसँग सल्लाह गरेर टुंगो लगाउन भनेपछि ठाकुरले पनि त्यसपछि सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णले उहाहरुसँग पार्टीका तर्फबाट छलफल गर्ने सुनाएर महन्थ त्यसदिन बालुवाटारवाट निस्केका थिए । त्यसपछि यो टोलीको दुई दुई पटक सम्वाद भईसकेको छ । हिजो बिहान पनि ओली र ओलीले खटाएका प्रतिनिधीका बीचमा बालुवाटारमा छलफल भएको थियो । हिजोको छलफलमा भने एमालेका तर्फबाट तीन महिनाको समय जसपा नेताहरुसँग माग गरिएको जसपाका एक नेताले बताए ।

रेशम चौधरीको रिहाई तीन महिनाभत्र सर्वाेच्च अदालतबाटै निर्दोष रहेको ठहर गरी गरिदिने, प्रतिनिधीसभामा उपसभामुख दिने, गण्डकी र लुम्विनी प्रदेशमा पनि जसपाका नेताहरुलाई सरकारमा लगेर संयुक्त सरकार बनाउने र केन्द्रमा पनि आवश्यक र आर्कषक मन्त्रालय दिएर जाने, तर यी सवै कामका लागि तीन महिनाको समय आफुहरुलाई दिन जसपाका नेताहरुसँग प्रधानमन्त्री ओली पक्षले आग्रह गरेको ति नेताले बताए । 

तर अबको सत्ता समिकरणमा आफ्नो पार्टी निर्णायक भएकोले यसपटक भने उसले उधारोमा होइन, नगदमै सहमति चाहेको छ । अर्थात चौधरीलाई अहिले नै पहिला रिहाई गर्नुपर्ने मागलाई जसपाका नेताहरुले जोडतोडका साथ उठाईरहेका छन् । प्रधानमन्त्री पक्षले तीन महिना माग गरेपछि जसपाका नेताहरुले पनि तीन महिना पछि नै सरकारलाई आफुहरुले समर्थन गर्ने बताएपछि ओली झस्किएका छन् ।

उनले जसपा मनाउन कैलाली घटनाका जोडिएका चौधरीलाई रिहाई गर्ने तयारीमा जुटेको छ । यसका कानुनी पाटोहरु के कस्ता देखिन सक्छ ? भन्ने बारेमा अहिले नेम्वाङ र महान्यायधिवक्ता अग्नि खरेलसँग प्रधानमन्त्री ओलीले भित्री तयारी गरिरहेका छन् ।

जसपाले उधारोमा होइन, नगदमै सहमति खोजेपछि त्यहाभित्र आफुलाई रुचाउने पात्र र नेताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भड्काउन सक्ने ठानी ओली पक्षले ति नेताहरुलाई दिनहुँ इन्गेज बनाउन थालिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस