काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ०८ : ३८
काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सरकारमा नेतृत्व गर्ने अवसर पाए काँग्रेस त्यसबाट पछि हट्न नहुने भन्दै बुधबार चितवनमा धारणा सार्वजनिक गरेका देउवाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका हुन् । 

‘आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली नेताहरुलाई बैठकका लागि सभापति ज्यूले बोलाउनु भएको छ,’ काँग्रेसका एक पूर्व पदाधिकारीले भने । संसदको २३ फागुन देखि बस्न लागेको अधिवशेन र प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सरकारको खोजी भईरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

नेकपा विभाजन भएसँगै नेकपाका दुवै पक्षले काँग्रेसलाई नयाँ सरकार गठनमा तानातान गर्न थालेका छन् । काँग्रेसले जुन पक्षलाई साथ दिन्छ त्यही पक्षको सरकार बन्ने अवस्था छ । त्यसो हुँदा सरकारको नेतृत्वको बलियो दाबेदारका रुपमा समेत काँग्रेस सभापति देउवा देखिएका छन् । देउवाले पनि काँग्रेसले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बुधबार मात्रै बताएका थिए ।

उनले आफ्रने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सम्बोधन गर्दै भनेका थिए,–चिन्ता नगरे हुन्छ रामचन्द्र जी । तपाईले म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो, अरु पार्टी भन्दा आफ्नै पार्टीको भए तपाईलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ ।’  काँग्रेसले संसद बैठकमा कसरी जाने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक बोलाएका हुन् । काँग्रेसले संसदीय दलको बैठक पनि शुक्रबारका लागि बोलाईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस