चीन र रूससहित सुरक्षा परिषदका सबै सदस्यले म्यानमारको सेनालाई भने - सुकीलाई तत्काल रिहा गर

रासस

शुक्रबार, २३ माघ २०७७, १२ : ३२
चीन र रूससहित सुरक्षा परिषदका सबै सदस्यले म्यानमारको सेनालाई भने - सुकीलाई तत्काल रिहा गर

काठमाडौं । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले म्यानमारको सेनालाई प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र गिरफ्तारीमा परेका अन्य सबैलाई तत्काल रिहा गर्न भनेको छ। 

परिषदकी अध्यक्ष बार्बरा वुडवार्डले बिहीबार विज्ञप्ति जारी गर्दै सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको संकटकाल र सुकीलगायत नेताहरूलाई गिरफ्तार गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको उल्लेख गरेकी छन्। 

यसअघि मंगलबार बसेको सुरक्षा परिषद्को बैठकपछि म्यानमारमा भएको सैनिक कूको विरोध गर्दै निकाल्न लागेको वक्तव्य चीनले नमानेपछि रोकिएको थियो। दुई दिनपछि भने चीन र रूसजस्ता कम्युनिष्ट मुलुकले पनि म्यानमारका प्रजातन्त्रवादी नेताहरूलाई रिहा गर्न माग गरेका हुन्। 

सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएका छन्,ु वुडवार्डको वक्तव्यमा भनिएको छ, ‘प्रजातान्त्रिक संस्था र प्रक्रियाहरू पालना, हिंसा हुन नदिने, मानव अधिकारको पूर्ण रूपमा सम्मान गर्ने, स्वतन्त्रता र कानूनको शासनको आवश्यकतामा उनीहरूले जोड दिएका छन् ।

म्यानमारका जनताको इच्छा र चासोअनुसार वार्ता र मेलमिलाप जारी राख्न उनीहरूले प्रोत्साहित गरेको विज्ञप्ति उल्लेख छ।

सदस्य राष्ट्रहरूले म्यानमारका नागरिक समाज, पत्रकार र मिडियाकर्मीहरूमाथि लगाइएका प्रतिबन्धबारे पनि चिन्ता व्यक्त गरेको अध्यक्ष वुडवार्डले जानकारी दिएकी छन्।

संयुक्त राष्ट्रको राहत उडानको पुनर्स्थापना गरी अप्ठेरोमा परेका मानिसहरूलाई सुरक्षित र निर्वाध मानवीय पहुँचका लागि आह्वान पनि गरिएको छ।

सदस्यहरूले क्षेत्रीय संस्थाहरूका लागि बलियो समर्थन रहेको जनाएका थिए। विशेषगरी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ९आसियान० र त्यसका अध्यक्षले फेब्रुअरी १ मा निकालेको वक्तव्यलाई स्वागत गरेका छन्।