शान्तिपूर्ण राजनीतिमा आउन खोज्दै विप्लव

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, ०९ : ३७
शान्तिपूर्ण राजनीतिमा आउन खोज्दै विप्लव

काठमाडौँ । प्रतिवन्ध फुकुवा, अन्तरिम प्रगतिशिल जनपक्षीय सरकार र वैज्ञानिक समाजवादी व्यवस्थाको आधारका बारेमा संविधान संशोधनको नारासहित विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने प्रयासमा जुटेको छ ।

दुई वर्ष अगाडि सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले शान्तिपूर्ण राजनीतिमा अवतरणको प्रयास आफनोतर्फबाट अगाडि बढाएको छ । सरकारका विभिन्न निकायमार्फत वार्ताका लागि पनि उसले प्रयास थालेको छ । आफ्नो पार्टीमाथि सरकारले गत दुई वर्ष अगाडि लगाएको प्रतिबन्ध जसरी पनि फुकुवा गर्नुपर्ने र त्यसपछि शािन्तपूर्ण राजनीतिमा आउने प्रतिबद्धतासहितको सन्देश विप्लवको पार्टीले सरकारलाई विभिन्न सुत्र परिचालन गरी पठाइसकेको छ ।

त्यसका लागि पार्टीभित्र पनि विप्लवले ब्यूरोस्तरका आन्तरिक प्रशिक्षणसमेत करिव सिध्याइसकेको छ । वार्ताका लागि वातावरण निर्माण गर्न आफनो तर्फबाट उसले पूर्वमन्त्री तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली समेत बनाएको थियो । वार्ता टोलीमा गत साता मात्रै पक्राउ परेका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका चिरन पुन  (भरत) रहेका छन् ।

प्रधानमन्त्री ओली पक्षका नेताहरुसँग यो टोलीले एक चरण छलफल समेत गरिसकेको अवस्थामा बास्तोला पक्राउ परेका हुन् । यो पक्षले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, जेल र हिरासतमा रहेका आफना वन्दी नेता कार्यकर्ता रिहा गर्नुपर्ने, संविधान संशोधन गरी समाजवाद उन्मुख संविधानको साटो वैज्ञानिक समाजवादको आधार खडा गर्ने गरी कुनै शब्द समेट्नुपर्नेलगायतका विषयमा सरकार सदासयताका साथ प्रस्तुत भए आफूहरु शािन्तपूर्ण राजनीतिमा आउन तयार रहेको सन्देश समेत ओलीसमक्ष पु-याएका छन् ।

विप्लवको पार्टीमा पनि अहिले महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्माका बीचमा आन्तरिक टकराव छ । प्रकाण्ड जसरी पनि वार्तामा आएर उस्तै परेमा प्रधानमन्त्री केपी ओलीसँगै पनि मिलेर जानुपर्ने पक्षमा देखिएका छन् । तर विप्लव भने प्रतिवन्ध फुकुवा गरेमा शान्तिपूर्ण वाटोमा आएर अन्य मुद्दा मिल्ने चार पार्टीसँग एकता गरेर जाने पक्षमा देखिएका छन् । त्यसका लागि रणनीतिक मोर्चा समेत विप्लवसहितको पार्टीको बैठकले बनाइसकेको छ ।

ओलीको असंवैधानिक ‘कु’ पछि चुनाव पनि नुहुने र संसद पनि पुनस्र्थापना नहुने अवस्था आउने भन्दै ओलीको असंवैधानिक ‘कु’ नकारात्मक नै भए पनि त्यसलाई पार्टीले सकारात्मक फाइदाका लागि उपयोगको नीति बनाएर जानुपर्ने पक्षमा विप्लवको पार्टी पुगेको छ । त्यसका लागि उसले अन्तरिम प्रगतिशील जनपक्षीय सरकार गठनको नारा अगाडि सारेर आउने भएको छ ।

सरकारले प्रतिबन्ध फुकुवा गरेमा शान्तिपूर्ण राजनीतिमा आएर मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैधानिक समाजवादी पार्टीसँग मोर्चा कस्ने र पार्टी एकतासम्मै जाने निचोडमा विप्लव पक्ष पुगेको छ । त्यसका लागि तत्कालीन कार्यक्रम जनगणतन्त्र र दीर्घकालीन रणनीतिका रुपमा वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाएर एकता प्रयास गर्ने पक्षमा विप्लव देखिएका छन् ।

तर प्रकाण्ड पक्षले भने शान्तिपूर्ण राजनीतिमा आँउदा ओली पक्षसँग पनि एकता हुन सक्ने गरी छलफल चलाउन थालेका छन् । प्रकाण्ड पक्षले त्यस्तो गरेमा विप्लव पक्षले पनि प्रचण्ड पक्षसँग एकताको संवाद अगाडि बढाउने सम्भावना पनि रहेको बताइन्छ । तर अहिले विप्लव जसरी हुन्छ पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेर शािन्तपूर्ण राजनीतिमा आउने प्रयासमा रहेको विप्लव निकट स्रोतले सफलखवरलाई बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस