पुस २१ देखि सर्वसाधारणका लागि खुला गरिदैं मुक्तिनाथ मन्दिर

पत्रपत्रिकाबाट

शनिबार, १८ पुस २०७७, ०८ : ०६
पुस २१ देखि सर्वसाधारणका लागि खुला गरिदैं मुक्तिनाथ मन्दिर

जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ।
मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र(१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मुक्तिनाथ मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।

मुक्तिनाथ विकास समितिकी अध्यक्ष एवं प्रजिअ हिरादेवी पौडेलको अध्यक्षतामा सरोकारवाला निकाय सम्मिलित बैठकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने घोषणा गरिएको हो। बैठकले सो अवसरमा विभिन्न ४ बुँदे निर्णय समेत गरेको छ। समितिकी अध्यक्ष एवं प्रजिअ पौडेलले नयाँ वर्षमा मुक्तिनाथ मन्दिर खुला गर्ने महत्वपूर्ण सकारात्मक निर्णय गरेको जानकारी दिइन्।

प्रजिअ पौडेलका अनुसार आउँदो पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड(१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड(१९ को जोखिम न्युनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा  सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको हो।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विगत १० महिनाअघिदेखि बन्द छ। मन्दिर बन्द रहदा मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थिया। गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुक्तिनाथ विकास समितिको पहलमा सरोकारवालाको बैठकले मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरेको बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस