शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्द

रासस

सोमबार, २९ मंसिर २०७७, ११ : २९
शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्द

सांकेतिक तस्वीर

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । 

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पिसीआर रिपोर्टअनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना सङ्क्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनका अनुसार आज आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको सङ्क्रमण देखिएको छ । उनीहरु होम आइसोलेसनमा छन् र अवस्था सामान्य नै छ । चार विद्यार्थीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । कोरोना सङ्क्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गङ्गादेव पुरीले बताए । त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि सङ्क्रमण देखिएको छ ।

दुई विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनका अनुसार कोरोना सङ्क्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पिीसआर परीक्षण गरिएको थियो । त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले जनाए। शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताए ।

पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना सङ्क्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता विद्यालय बन्द हुने बताएको छ । सङ्क्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन् ।

एक महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिएका छन् ।    यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आज १७ शिक्षक, पाँच स्वास्थ्यकर्मी र चार विद्यार्थीसहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । चौवालिस थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १०६ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । 

उनका अनुसार आजै २५ जना कोरोना सङ्क्रमण जितेर घर फर्केका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या कर्णालीमा छ हजार ६३२ पुगेको छ । तीन सय १३ सङ्क्रमित आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस