स्थायी समितिको आडभरोसा खोज्दै ओली

सोमबार, २२ मंसिर २०७७, ०७ : ४२
स्थायी समितिको आडभरोसा खोज्दै ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार नै गालीगलौज र रत्यौली हुने ठाउँमा जान्न भनेर स्थायी कमिटी बैठकमा उपस्थित नहुने संकेत गरिसकेका थिए । तर यसअघि पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तय भएको बैठक सुरक्षाको कारण देखाउँदै बालुवाटारमै सारिएकाले आइतबार त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । कार्यालय छेउछाउका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ थिए ।

नेकपाका दर्जनौं कार्यक्रम र बैठकहरूमा सहभागी हुन प्रधानमन्त्री ओली यसअघि पनि कैयौंपटक धुम्बाराही पुगेका छन् तर यतिका मात्रामा सुरक्षाकर्मी पहिलोपटक देखिएको हो । प्रधानमन्त्री ओली उपस्थित नभएपछि छिमेकीका छतहरूबाट सुरक्षाकर्मी ओर्लिए, नेकपाको स्थायी कमिटी बैठक सुरु भयो । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यहरूलाई सम्बोधन गर्दै पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाए, जसलाई कमिटीले बैठकमा प्रधानमन्त्रीको उपस्थितिका रूपमा बुझेको नेता भीम रावलको प्रतिक्रिया छ ।

ओलीको पत्रमा धेरै कुरा पुरानै र भन्दै आएका विषय दोहोरिएको भए पनि दुईवटा कुरामा उनी फेरिएका छन् । पार्टीभित्रको समस्या पार्टीकै आन्तरिक हो भन्ने उनको पत्रको निचोड छ । ‘मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दैर् नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु,’ ओलीले पत्रमा लेखेका छन्, ‘तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहनेछ ।’

यसअघि गत असारका बैठकहरूमा प्रधानमन्त्री ओलीले भारतको इसारामा सरकार परिवर्तन र पार्टी विभाजन गर्न लागिएको अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको थियो । यही अभिव्यक्तिको आडमा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश स्थायी कमिटी सदस्यहरूले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट उनको राजीनामा पनि मागेका थिए ।

निश्चित एजेन्डाबिनै सुरु भएको गत असारको बैठक यही अभिव्यक्तिपछि ओलीको राजीनामामा केन्द्रित भएको थियो । यसैको फलस्वरूप ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई सडकछाप र स्थायी कमिटीका नेताहरूलाई हुल्लडबाजको संज्ञा दिए । भलै उनैले ‘हुल्लडबाज’ भनेका स्थायी कमिटी सदस्यहरूको पहलमा पार्टीभित्रको समस्या अल्पकालीन रूपमा हल भयो, ओलीको अध्यक्ष पद आउँदो महाधिवेशन र प्रधानमन्त्री पद आगामी संसदीय निर्वाचनसम्मका लागि थमौती भयो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस