टस हारेको नेपाललाई पहिले फिल्डिङको निम्तो

सोमबार, २८ फागुन २०७४, १३ : २१
टस हारेको नेपाललाई पहिले फिल्डिङको निम्तो

काठमाडौं । विश्वकप छनोटमा हङकङले टस जितेको छ र नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपालले अफगानिस्तानविरुद्ध खेलेको टोलीलाई उतारेको छ ।

समूह चरणको यो खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ । तर, एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट जोगिन खाजको खेल जित्नै पर्ने दबाव छ । हङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।

नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । तीन हारका बावजुद नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अति न्युन रहे पनि अझै जीवित छ ।

अर्को तर्फ हङकङ स्कटल्यान्ड र जिम्बावेसँग हारे पनि अफगानिस्तानविरुद्ध जित दर्ता गर्न सफल रह्यो । समूह ‘बि’मा नेपाल र हङकङसहित जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । स्कटल्यान्ड र जिम्बावे सुपर सिक्समा प्रवेश गरिसकेका छन् भने एक स्थान अझै खाली रहेको छ ।

अफगानिस्तान र हङकङको दुईदुई अंक रहेको छ भने अंकविहिन रहेको नेपाल पुछारमा रहेको छ । आज हङकङविरुद्ध विशाल अन्तरको जित दर्ता गर्न सके नेपालले अफगानिस्तानलाई रनरेटमा उछिन्न सक्छ । तर हङकङलाई सामान्य अन्तरले हराउँदा नेपाल चौथो स्थानमा उक्लिने छ र प्ले-अफ खेल्दै एकदिवसीय मान्यता पाउन सक्ने सम्भावना रहेको छ ।

यदि नेपालले हङकङलाई १५० रनमा रोक्न सफल भएमा नेपालले सो लक्ष्य ४ ओभर १ बल भित्र पछ्याउनु पर्ने छ । त्यस्तै लक्ष्य २०० पाएमा नेपालले सुपर सिक्समा प्रवेश हुन ५ ओभर ३ बल भित्र खेल जित्नु पर्छ ।

नेपालको ओपनिङले निकै आलोचना खेपिरहेको बेला आज ओपनरहरुको प्रस्तुति हेर्नलायक रहने छ । अघिल्लो खेलमा शरद भेषावकर ह्यामस्ट्रिङको चोटका कारण सहभागी थिएनन् भने उनको स्थानमा आएका करण केसीले सन्तोषजनक प्रदर्शन गरेका थिए ।

नेपाल अफगानिस्तान विरुद्धकै टोलीसहित मैदानमा उत्रिने छ । नेपालको हङकङसँग इतिहास भने खराब छ । खेलिएका दुई पछिल्ला खेलमा हङकङले दुवैमा जित हांसिल गरेको छ । आजको खेल नेपाली समयअनुसार दिउसो १.१५ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस