चितवनमा कोरोनाबाट थप पाँच जनाको मृत्यु, ६७ पुगे मृतक

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १६ : ३५
चितवनमा कोरोनाबाट थप पाँच जनाको मृत्यु, ६७ पुगे मृतक

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा थप पाँच जना कोरोना संक्रमितको निधन भएको छ । भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको निधन भएको अस्पतालहरुले जनाएका छन् ।  स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले सफल खबरलाई जानकारी दिए ।

भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुषमा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक १६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । सूचना अधिकारी पौडेलले कोभिड आइसियू कक्षमा राखेर उपचार हुँदै गर्दा उनको मृत्यु भएको बताए । 

धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया संक्रमित महिलाको कार्तिक ९ गतेदेखि नै कोभिड आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा ती संक्रमित महिलाको पनि मृत्यु भएको अस्पतालको भनाइ छ । गत कार्तिक ५ गते कोभिड संक्रमणसहित श्वासप्रश्वासमा समस्या भई ती महिला अस्पतालको आइसोलेसनमा  थिइन् । 

यस्तै, पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिकाका २ जना पुरुष र देवचुली नगरपालिका नवलपुरका एक जना पुरुषको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए । 

भरतपुर ४ निवासी ६३ वर्षिय पुरुष, भरतपुर ३ का ५३ वर्षका पुरुष र नवलपुर देवचुली ११ का ८० वर्षका पुरुष संक्रमितको मृत्यु भएको डा अधिकारी बताउँछन् । भरतपुर ४ निवासी ६३ वर्षिय पुरुष कात्तिक १२ गते अस्पतालको कोभिड आइसियुमा भर्ना भएका थिए भने १३ गते उनमा कोरोना देखिएको थियो । उनी मधुमेहका बिरामी रहेका थिए । 

भरतपुर ३ का ५३ वर्षका पुरुष कात्तिक १६ मा अस्पताल भर्ना भएको आधा घण्टामै उनको मृत्यु भएको थियो । उनमा १४ गते कोरोना देखिएको थियो । नवलपुर देवचुली ११ का ८० वर्षका पुरुष कात्तिक १६ मा अस्पताल भर्ना भएका थिए । उनमा १४ गते कोरोना देखिएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस