दशैंका बेला चितवनमा २२ जना संक्रमितको मृत्यु, परीक्षण गराएका ५० प्रतिशभन्दा बढीमा कोरोना पुष्टि

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, १५ कार्तिक २०७७, १७ : ४१
दशैंका बेला चितवनमा २२ जना संक्रमितको मृत्यु, परीक्षण गराएका ५० प्रतिशभन्दा बढीमा कोरोना पुष्टि

चितवन । चितवनमा दशैंका बेला २२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार दशैंको १५ दिने अवधिमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको  हो ।

सोही अवधिमा जिल्लामा १०६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८०२ जना निको भएर घर फर्किएका छन् । दशैंको अवधिमा जिल्लामा जम्मा १९९९ वटा स्वाव परीक्षण गरिएको छ । यो तथ्यांकलाई विशलेषण गर्दा दशैंका बेला जिल्लामा स्वाव परीक्षण गराएका ५० प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि भएको देखिन्छ ।

कार्तिक १ गते घटस्थापनाका दिनसम्म जिल्लामा संक्रमितहरुको संख्या ३२१६ पुगेको थियो । जसमा १७९० जना निको र ४० जनाको मृत्यु भएर १३८६ जना सक्रिय संक्रमित रहेका थिए ।

स्वस्थ्य कार्यालय प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा हालसम्म संक्रमितको संख्या ४२७७ पुगेको छ । जसमा २५७७ पुरुष र १७०० महिला रहेका छन् । त्यसै गरी जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । 

त्यसैगरी कोरोना भाइरस संक्रमितको निको हुने दर भने चितवनमा ६१ प्रतिशत छ । हालसम्म २५९२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

चितवनमा हाल १६२३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सार्वजनिक आइसोलेसनमा १४०, अस्पतालको आइसोलेसनमा २०२ र होम आइसोलेसनमा १२८१ जना रहेका छन् ।

कुुल संक्रमितहरुमा भरतपुर महानगरपालिकका २९१८, रत्ननगर नगरपालिकाका ५३२, खैरहनी नगरपालिकाका ३१०, राप्ती नगरपालिकाका २७०, कालिका नगरपालिकाका १२६, माडी नगरपालिकाका ९२ र इच्छाकामना गाउँपालिकाका २९ जना रहेका छन् ।

निको हुनेहरुमा भरतपुरका १७२५, रत्ननगरका ३५३, खैरहनीका १७४, राप्तीका १७०, कालिकाका ७४, माडीका ७९ र इच्छाकामनाका १७ जना रहेका छन् ।

मृत्यु हुनेहरुमा भरतपुरका ३५, रत्ननगरका ८, खैरहनीका ७, राप्तीका ६, कालिकाका ६ जना रहेका छन् ।