फोरजीमा आश्चर्यजनक वृद्धि, एकै महिना बढे सात लाख प्रयोगकर्ता

पत्रपत्रिकाबाट

विहीबार, ०६ कार्तिक २०७७, ०८ : ३५
फोरजीमा आश्चर्यजनक वृद्धि, एकै महिना बढे सात लाख प्रयोगकर्ता

काठमाडौँ । केही समययता मासिक औसत १० हजार हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो । असारको तुलनामा एकै महिनामा सात लाखभन्दा बढी ग्राहक थपिएको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित ग¥यो ।

नेपालमा फोरजी सेवा सुरु भएको चार वर्ष पूरा भइसक्दा तुलनात्मक रूपमा कम अर्थात् ५५ लाखभन्दा कम प्रयोगकर्ता मात्र रहेको सन्दर्भमा थपिएको यो सङ्ख्या आफैँमा आश्चर्यजनक छ । प्राधिकरणको पछिल्लो उक्त तथ्याङ्कले थपिएका अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमको भएको देखाउँछ ।

नेपालमै पहिलोपटक २०७३ पुसमा फोरजी सेवा सुरु गरेको सरकारी कम्पनीको गत असारसम्म मुस्किलले साढे आठ लाख प्रयोगकर्ता थिए । साउनमा एकैपटक सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएपछि साउनमा टेलिकमका फोरजी प्रयोगकर्ता एकैपटक साढे १५ लाख पुगेको छ । एकैपटक सात लाख प्रयोगकर्ता थपिए पनि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तुलनामा भने यो आधाभन्दा पनि कम हो । साउनसम्म एनसेलका ३७ लाख ६२ हजार फोरजी प्रयोगकर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

एकै महिनामा टेलिकमका फोरजी प्रयोगकर्ता आश्चर्यजनकले बढ्नुमा कुनै विशेष कारण भने होइन । चालू आर्थिक वर्ष २०७७÷७८ को सुरुवातसँगै टेलिकमले आफ्नो फोरजी प्रयोगकर्ताको तथ्याङ्क समायोजन गरेर प्राधिकरणमा पेस गर्दा ह्वात्तै बढेको देखिएको मात्र हो । व्यावसायिक रूपमै फोरजी सेवा सुरु भएको लामो समय बितिसक्दा पनि फोरजीको ग्राहक र बजार विस्तार निकै सुस्त भएको तथ्याङ्कसहित गत असोज ४ मा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो ।

उक्त समाचारमा कम्पनीबाटै प्राधिकरणबाट तथ्याङ्क उपलब्ध गराउँदा गल्ती हुँदा फोरजी प्रयोगकर्ता सङ्ख्या कम भएको देखिएको उल्लेख थियो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी पनि फोरजी प्रयोगकर्ताको वास्तविक सङ्ख्या पठाउँदा बढेको देखिएको बताउनुहुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस