CG Landmark

अर्गानिक च्यांग्रा चखाउन जुम्लाबाट आए कमल

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १७ : २६
अर्गानिक च्यांग्रा चखाउन जुम्लाबाट आए कमल

चितवन । दसैंमा विभिन्न प्रकारका मासुका परिकार बनाइ खाने प्रचलन पछिल्लो समय बढ्दै गइरहेको छ । दसैँमा नयाँनयाँ परिकारको स्वाद चाख्न जोकोही पनि हुरुक्कै हुन्छन् । त्यसमा पनि हिमाली भेगको च्यांग्राको स्वाद लिने चाहना कसको पो हुँदैन र ?

चितौनेलाई अर्गानिक च्यांग्रा चखाउन जुम्लाबाट व्यवसायी झरेका छन् । व्यवसायी कमल बस्नेतसहितको टोली चितवनवासीलाई अर्गानिक स्वाद चखाउन चितवनका विभिन्न बजार डुलिरहेका छन् । च्यांग्रा बेच्दै हिँडिरहेको अवस्थामा भेटिएका ३६ वर्षका बस्नेतले भने, ‘जुम्ला, दार्चुलाका च्यांग्राको स्वाद चखाउन चितवन पहिलोपटक आएको हो, ६० वटा अर्गानिक च्यांग्रा ल्याएका छौँ ।’ 

Yeti Diistillery Tansen Cement box

व्यवसायी बस्नेत चितौने ग्राहकलाई पहिलोपटक बुझ्न पाएको बताउँछन् । ‘चितवनवासीलाई जुम्लाको जडिबुटीमात्र खाएको च्यांग्रा ल्याएका छौँ, तर चितौनेले च्यांग्राको विषयमा धेरै बुझ्न बाँकी छ’ च्यांग्राको मूल्य बताउँदै बस्नेतले भने, ‘हामी चार जनाको टोली मिलेर जुम्लाको च्यांग्रा चितवन ल्यायौँ, अहिले यहाँ म एक्लै छु, अरु साथीहरुले च्यांग्राको बजार खोजिरहनुभएको छ ।’

बस्नेतका अनुसार दुई दिन, दुई रात लगाएर दार्चुला र जुम्लाबाट गाडीमा हालेर च्यांग्रा ल्याइएको हो । ‘६० वटा ल्याएका थियौँ, १४ वटा बिके, अरु बेच्न बाँकी नै छ’ उनले भने, ‘धरैले भाउ सोध्छन् र महँगो भन्दै जान्छन्, के गर्ने जडिबुटी खाएर हुर्केका अर्गानिक च्यांग्रा अलिकति महँगो त हुने नै भयो ।’

६० वटा च्यांग्रा नारायणगढको बजारमा झार्दासम्म २० लाखको हाराहारीमा लगानी भएको छ । एउटा च्यांग्रा ल्याएको बस भाडा नै दुई हजार परेको उनी बताउँछन् । भन्छन्, ‘प्रतिकिलो ९०० रुपैयाँदेखि ९५० रुपैयाँसम्ममा विक्री गरेका छौँ, हाम्रो उद्देश्य च्यांग्रा बेचेर कमाउनुभन्दा पनि चितवनवासीलाई निरोगी अर्गानिक च्यांग्राको स्वाद चखाउनु हो । फेरिफेरि यहाँ आउने बाटो बनाइरहनु हो ।’

उनका अनुसार एउटा च्यांग्रा कम्तीमा ३० किलो छ । ‘६० किलोसम्मको च्यांग्रा  दार्चुलादेखि ल्याएका थियौँ’ बस्नेत भन्छन्, ‘चितवनको बजारमा सिंगो च्यांग्राको भन्दा पनि बनाएर किलोको दरले किन्नेहरुको माग बढी पाएँ, एउटा च्यांग्रा एक परिवारलाई धेरै हुन्छ, एउटै परिवारले ३०–३५ हजारको च्यांग्रा किन्न खोज्ने ज्यादै कम पाइयो ।’ 

अझै दुई चार दिन चितवन बसेर च्यांग्रा बेच्ने, विक्री नभए होलसेल दाममा काठमाडौँतिर पठाउने सुरसार पनि रहेको उनी बताउँछन् । उनले भने, ‘चितवन ल्याएका च्यांग्रा अर्गानिक छन्, एन्टिबायोटिक खुवाइएको छैन, जडिबुटी खाएर हुर्केका छन्, यिनीहरुको पेटमा जुका हुँदैन । यस्ता च्यांग्राको मासु खाँदा औषधिको काम गर्छ ।’ 

यसरी सुरु भयो च्यांग्राको मासु खाने चलन

पोखरेलीहरुले कहिलेबाट च्यांग्राको मासु खान सुरु गरे भन्ने बारे कुनै एकिन जानकारी छैन । तर च्यांग्राको मासु खाने चलन पोखराबाट भएको मानिन्छ । तत्कालीन लमजुङका राजा कुलमण्डनले भारतका मुगल बादशाहलाई खुसी पार्न झारल, घोरल तथा हिमाली च्यांग्राको सुकुटी लगायत अनेक जडीबुटी उपहार पठाएको पाइन्छ । इतिहासका किम्वदन्तीहरु सुनिए अनुसार कास्कीका राजाहरुले च्यांग्राको मासु र सुकुटी खाने चलन बसालेका थिए । 

पोखरामा सर्वसाधारणका लागि भने करिब १५० वर्ष पहिले च्यांग्राको मासु खान थालिएको अनुमान गरिन्छ ।  पोखरामा पहिला हिमालपारि भोटबाट नुन ल्याउने र नुन साट्न अन्न लैजाने चलनसँगै सर्वसाधारणमा च्यांग्रा खाने चलन सुरु भएको मानिन्छ । 

कहाँबाट ल्याइन्छ च्यांग्रा ?

चितवन, पोखरा, काठमाडौँमा ल्याइने च्यांग्रा हिमाली भेगबाट नै आउने हुन् । पोखरामा सबैभन्दा पहिला तिब्बतबाट च्यांग्रा आउँथे । बिस्तारै मुस्ताङको उच्च हिमाली भेगमा पनि च्यांग्रा पाल्न थालेपछि त्यहाँका च्यांग्रा पोखरामा झार्न थालियो । पछिल्लो समय चितवनको बजार पनि ठूलो हुँदै गएको र चितवनवासीहरु च्यांग्रातर्फ थप आकर्षित हुन थालेपछि यहाँको बजारमा पनि व्यवसायीहरुले च्यांग्रा ल्याउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस