यी हुन कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु

एजेन्सी

शुक्रबार, २३ असोज २०७७, २१ : ०७
यी हुन कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख  ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १७ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ । 

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ६ हजार ५५१ जनाको मृत्यु भईसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख २९ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३८ हजार ६१४ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ ।दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म १० लाख ६७ हजार ९४५ जना पुगेको छ ।  यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६८ लाख २४ हजार पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ७७ लाख  ६ हजार भन्दा बढी हजार निको छन् भने करिब ८० लाख ४९ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।