CG Landmark

कर्णाली प्रदेशमा २८ सङ्क्रमित थप, सूपमा कूल ११ को निधन

रासस

मंगलबार, ३० भदौ २०७७, २० : ५९
कर्णाली प्रदेशमा २८ सङ्क्रमित थप, सूपमा कूल ११ को निधन

काठमाडौं । कर्णाली प्रदेशमा पुनः आज २८ सङ्क्रमित थपिएका छन् । त्यससँगै कोरोना भाइरसबाट सङक्रमित हुने सङ्ख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एक जना कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो । 

Yeti Diistillery Tansen Cement box

त्यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा सङक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताउनुभयो । “ सङ्क्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उहाँले भन्नुभयो । त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । यससँगै  प्रदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा आज थप ५४जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, बैतडी, बझाङ, दार्चुला र डोटीका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या छ हजार ३९८पुगेको छ । कोभिड—१९बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ३९५जना पुगेका छन् । यससमेत प्रदेशका सबै नौ जिल्लामा कूल सक्रिय सङ्क्रमित ६९८जना पुगेका छन् ।
हालसम्म कोरोना पोजेटिभ निको भई पाँच हजार६८९जना डिस्चार्ज हुनु भएको छ । कोभिड—१९को सङ्क्रमणवाट हालसम्म कैलालीका छ, बझाङ र बाजुराका दुईदुई तथा अछाममा एक जना समेत ११ जनाको मृत्यु भएको छ ।भदौ १० गते यता कोरोना भाइरसबाट हुने मृत्युदर स्थिर छ । 

यसैबीच धनगढी उपमहानगरपालिकासँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिका कार्यालयका अत्यावश्यबाहेकका सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।पछिल्ला दिनमा समुदायस्तरमा कोरोना देखिन थालेको र कार्यालयका कर्मचारीसमेत सङ्क्रमित भएकाले यही भदौ ३१ देखि असोज ७गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा जनाइएको छ ।