सन्दर्भ : बाल दिवस

कसले दिलाउँछ छाक टार्न धौधौ पर्ने परिवारका बालबालिकालाई अधिकार ?

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, २९ भदौ २०७७, १५ : १४
कसले दिलाउँछ छाक टार्न धौधौ पर्ने परिवारका बालबालिकालाई अधिकार ?

चितवन । आज राष्ट्रिय बाल दिवस हो । विगतका वर्षहरुमा देशभर विभिन्न कार्यक्रम गरी बाल दिवस मनाउने गरिन्थ्यो । विशेष गरी विद्यालयहरुमा बाल दिवसको दिन छुट्टै रौनक छाउँथ्यो । यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को विश्व माहामारीका कारण यो संभव हुन सकेन ।

सरकारले भने आज भर्चुअलरुपमा बाल दिवस मनाउँदै छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको ‘राष्ट्रिय बाल दिवस २०७७’ सरकारले मनाउँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाइदै छ ।

बालबालिका ऐन, २०७५ अनुसार १८ वर्षमुनिका मानव बालबालिका हुन्  । ती कलिला, अपरिपक्व, निर्दाेष, अबोध बालबालिका वयस्कप्रति परनिर्भर हुन्छन्  । सामाजिक सुरक्षा, शिक्षादीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान बालबालिकाको नैसर्गिक अधिकार हो । अझै भन्नुपर्दा बाल अधिकारअन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता नै बाल अधिकार हो । 

तर सबै बालबालिकाहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । बालबालिकाको नैसर्गिक अधिकार भन्ने गरिएको गुणस्तरीय शिक्षा पाउनबाट पनि बञ्चित छन्, कैयौं बालबालिका । गरिब परिवार र दुर्गम क्षेत्रका कैयौं बालबालिकाहरु आधारभुत शिक्षाबाट वञ्चित रहेका छन् । त्यस्तै अनाथ, असहाय, साहाराविहीन हुँदै बालबालिकाहरु सडकसम्म आइपुग्छन् । सडकमा कहाँबाट पाउन उनीहरुले शिक्षा ? अभिभावक भएका बालबालिकाहरुले पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण शिक्षा प्राप्त गर्न सकेका छैनन् । 

केही अनाथ र सडक बालबालिकाहरुलाई सरकार, विभिन्न संघसंस्था, नागरिक समाजलगायतले संरक्षण गरिरहेका छन् । तर वर्षेनी बालबालिकाहरु अनाथ बन्दै सडकसम्म आइरहेका कारणले गर्दा पनि होला सबै अनाथ बालबालिकाहरु संरक्षित हुन सकिरहेका छैनन् ।

यतिबेला नारायणगढको नारायणी नदी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवन शाखाले बेवारिसेहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रम सञ्चालन गरिहेको छ । विगत २५ दिनदेखि जारी उक्त कार्यक्रममा लियो क्लब अफ भरतपुर युथले सहकार्य गर्दै आइरहेको छ । 

खाना खानका लागि वृद्धवृद्धादेखि बालबालिकासम्म आउने गर्छन् । दैनिक २५० देखि ३०० जनासम्म आउनेमा करिव ५० जना बालबालिका हुने गर्दछन् । ती बालबालिकामध्ये अधिकांश विद्यालय शिक्षाबाट वञ्चित रहेको पाइएको छ । धेरैजसो १/२ कक्षा पढेर छाड्नेहरु रहेछन् । कोही अभिभावकविहीन थिए भने कोही अभिभावक भएपनि अति न्युन आर्थिक अवस्था भएको परिवारका रहेछन् । 

हेर्दा १० वर्षे जस्तो देखिन्थे तर आफू १६ वर्षीय भएको बताउने दिपेश सुनार पनि खाना खान आएका थिए । दुई कक्षा पढेर छाडेको बताउने उनले आफू बुटलबाट काठमाडौं जान हिँडेको बताए । गाडी नचलेको र पैसा पनि नभएकाले नारायणगढमा रोकिनुपरको बताउँदै उनले एउटा रुखमा सुत्ने गरेको बताए । आमाले कैदी जीवन बिताइरहेकी र बाबाको मृत्यु भइसकेको ती बालकले बताए । एउटा चिनेको दाइले गाडीमा खलासी (सहचालक) बन्न बोलाएकाले काठमाडौं हिँडेको उनी बताउँथे । उनको आफ्नै एउटा भाइ रहेछ उसले पनि काठमाडौंमै खलासी गर्ने गरेको ती बालकले बताए ।

१२ वर्षीय क्रितन दमाईले आफूले दुई कक्षा पढेर छाडेको बताए । आमाको मृत्यु भइसकेको र बुवा सिन्धुपाल्चोक रहेको बताउने उनले आफू साथीको घरमा बसेको बताए । उनका अनुसार सिन्धुपाल्चोकबाट साथीले आफूलाई नारायणगढ ल्याएका थिए । कोरोना माहामारी अघि यत्तिकै डुलेर, मागेर खाने गरेको उनी बताउँछन् ।

तीन कक्षा पढेर छाडेको बताउने १३ वर्षीय बालक सोम श्रेष्ठले आफू बुवाआमासँग कोठा भाडामा बस्ने गरेको सुनाए । लकडाउन र निषेधाज्ञाअघि बुवाले काठ चिर्ने र आमाले भाडा माझ्ने काम गर्ने गरेको बताउँदै उनले आफूले भैंसी चराउने गरेको सुनाए । काट्न ल्याइएको भैंसीलाई चराउन लाने गरेको उनले बताए ।

माथिका यी तीन बालक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता बालबालिकाहरु नेपालका हरेक शहरमा भेटिन्छन् । जो चाहँदाचाहँदै पनि पढ्न नपाएर कलिलै उमेरमा श्रम गर्न बाध्य छन् ।

यिनीहरुलाई पनि बाल अधिकार दिलाउँछौ भनेर सरकारले वर्षेनी घोषणा गरिरहेको हुन्छ । विभिन्न सामाजिक संघसंस्थाहरु पनि लागिरहेका छन् । तर अझै पनि सबै बालबालिकाले अधिकार पाउन सकिरहेका छैनन् । 

आजका बालबालिका भोलिका फूल हुन तर त्यो भन्दा अगाडि त्यो फूललाई मलजल गर्नुपर्छ । मलजल गरेन भने त्यो फूल ओइलाउँछ । त्यसैले त्यो फूललाई ओइलाउन दिनु हँुदैन र आजैदेखि सही मलजल गरेर तिनीहरुलाई अगाडि बढाउनु पर्छ । अधिकारको कुरा संविधानमा मात्र होइन व्यवहारमा पनि उतार्न जरुरी छ । सबै बालबालिकाले आफ्नो अधिकार प्रयोग गर्न पाउने अवस्थाको सिर्जन गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस