कोरोनाः प्रदेश नं  १ मा एक लाखको परीक्षण, २ मा १२ हजार सङ्क्रमित, कर्णालीमा दुई हजार ५०० विजयी, सुपमा ११३ प्रहरी सङ्क्रमित

रासस

आइतबार, २८ भदौ २०७७, २० : २५
कोरोनाः प्रदेश नं  १ मा एक लाखको परीक्षण, २ मा १२ हजार सङ्क्रमित, कर्णालीमा दुई हजार ५०० विजयी, सुपमा ११३ प्रहरी सङ्क्रमित

काठमाडौँ ।  प्रदेश नं १ मा आजसम्म एक लाख सात हजार ५३३ जनाको पिसिआर परीक्षण  भएको छ । उक्त परीक्षणमा चार हजार ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ ।

प्रदेशमा गत २४ घण्टाका अवधिमा ४६ सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा ५४७ जनाको परीक्षण गरिएकामा २० महिला र २६ पुरुषमा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा आज सात सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट  निको भएका हुन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या दुई हजार ६३ पुगेको छ ।

महानगरको सेवा असोज २ सम्म बन्द
विराटनगरपालिकाकाबाट प्रदान गरिने सेवा यही भदौ २९ देखि असोज २ गतेसम्मका लागि  बन्द गरिएको छ ।  महानगरद्वारा  आज जारी सूचनामा नगरका केही जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले रोकथाम,  न्यूनीकरण तथा नियन्त्रणका लागि नगर कार्यपालिका कार्यालय र मातहतबाट प्रवाह हुने सेवा (अत्यावश्यकबाहेक ) बन्द गरिएको उल्लेख गरिएको छ । महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्स सेवा भने चल्ने छ ।

यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल कोरोना भाइरसबाट आज सङ्क्रमित हुनुभएको छ । महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले अधिकृत पोखरेलको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको पुष्टि गर्नुभयो । यसअघि वडा नं २ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्य पनि सङ्क्रमित हुनुभएको थियो । 

सिर्जना फाइनान्सद्वारा रु ११ लाख 
प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि गरेको कार्यमा सहयोग पु¥याउन सिर्जना फाइनान्स लिमिटेडले आज रु ११ लाख सहयोग प्रदान गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई फाइनान्सका अध्यक्ष सुयश प्याकुरेलले सोबराबरको चेक हस्तान्तरण गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको बित्तीय कारोवार गर्ने इजाजतपत्र पाएको मोरङ, सुनसरी र सप्तरी कार्यक्षेत्र भएकोे लिमिटेडले सामाजिक उत्तरदायित्व कोषअन्तर्गत  महामारीबाट समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सहयोग गरेको हो ।  

जनकपुर–प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३८ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । प्रदेशभरमा मृतकको सङ्ख्या १०९ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अब ११ हजार ८८३ जना पुगेको छ । तीमध्ये ५३ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म ६ हजार ३६४ जना निको भएर घर फर्केका छन् । 

यस प्रदेशअन्तर्गत आठवटै जिल्लामा आज ६२५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यससमेत गरी अहिलेसम्म एक लाख १० हजार ७६२ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा ९४ हजार ५२५ जनाको रिपोर्ट नेगेटिभ आएको र चार हजार ३५४ जनाको  आउन बाँकी  छ । प्रदेशअन्तर्गत १७० क्वारेन्टिनमा आजसम्म ४३० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७५, आइसोलेशनमा ८६० र होम आइसोलेशनमा चार हजार ५३० जना बसेका छन् ।

कर्णाली– कर्णाली प्रदेशमा  संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ ।  आज एकैदिनमा कर्णालीमा ११० जना डिस्चार्ज भएसँगै कुल संक्रमितमध्ये करिब ९० प्रतिशत कोरोना जितेर घर फर्केको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।  

आज १० व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७८६ पुगेको छ । दुई सय ४५ संक्रमितको यहाँका विभिन्न आइसोलेशनमा उपचार भएको बताइएको छ । अधिकृत कँडेलका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ मै स्थिर छ ।

 सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ । 

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३३५पुगेको छ । सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक  सङ्क्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उहाँको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । 
हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछाममा एक जनासमेत ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्यु दर स्थिर छ । 

यसैबीच धनगढीस्थित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयका २४ र प्रदेश प्रहरी कार्यालयका चारसमेत आज थप २८ प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले प्रदेशमा हालसम्म ११३  प्रहरी सङ्क्रमित भएकामा ३४ जना उपचारपछि डिस्चार्ज हुनुभएको बताउनुभयो । 

बाँकी सङ्क्रमित ७९ जनाको धनगढीस्थित प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमित महिला प्रहरीलाई भने धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको महिलाको छुट्टै आइसोलेशनमा राखेर उपचार गरिएको छ । 

हालसम्म बझाङ र दार्चुलाका एकएक प्रहरी र कैलाली जिल्लामा खटिएका अधिकांश प्रहरीमा कोरोना सङ्क्रमण भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भन्नुभयो ‘‘सशस्त्र प्रहरी गण ‘रिजर्भ फोर्स‘का रुपमा रहेकाले अहिलेसम्म सुरक्षा व्यवस्थापन र अप्रेशनको काममा त्यति ठूलो प्रभाव परेको छैन ।”