भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति

रासस

आइतबार, २८ भदौ २०७७, १२ : ४८
भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति

फाइल फोटो

चितवन । भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुईजना गर्भवती उपचाररत रहेका छन् ।

अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटर सहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्य सँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार सङ्क्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका नवजात शिशुमामा सङ्क्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उहाँको भनाइ छ ।

सङ्क्रमितमध्ये तीनको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो  । ती मध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि सङ्क्रमण पुष्टि भएको हो । डा सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये तीन नवलपरासी, दुई चितवन, गोरखा, सप्तरी र मकवानपुरका एक÷एकजना रहेका छन् ।

अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् । अस्पतालले सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट यहाँ प्रसूति गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजारभन्दा बढीको प्रसूति यसै अस्पतालमा गराइन्छ । राजधानीको परोपकार प्रसूति गृहपछि धेरै बच्चा जन्माउने अस्पताल भरतपुर हो । उहाँले भन्नुभयो, “शुरुदेखि नै सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा सावधानी अपनाएर उपचार गरिएकाले निजीमा भन्दा सरकारी सुरक्षित ठानेर धेरै बिरामी आउने गरेका छन् ।” 

अस्पतालमा प्रसूति सेवा निःशुल्क छ । अस्पतालमा लामो समययता व्यथा लागेकादेखि सुत्केरी गराउनेसम्म काम गर्ने अनुभवी स्वास्थ्यकर्मी भएकाले प्रसूति गराउनेहरुको पहिलो गन्तव्य भरतपुर अस्पताल हुने गरेको छ । अस्पतालमा जन्मिसकेका बच्चालाई समस्या परेमा राख्नका लागि बाल सघन उपचार कक्ष पनि रहेको छ ।