भरतपुर कोभिड–१९ प्रयोगशालालाई पोल्ट्री व्यवसायीद्वारा अटोमेटिक पिसिआर मेशिन सहयोग

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २५ भदौ २०७७, १७ : ३३
भरतपुर कोभिड–१९ प्रयोगशालालाई पोल्ट्री व्यवसायीद्वारा अटोमेटिक पिसिआर मेशिन सहयोग

चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालालाई स्काईलार्क एग्रो अविनाश ग्रुप पोल्ट्री इण्डष्ट्रीले अटोमेटिक पिसिआर मेशिन सहयोग गरेको छ ।

आज प्रयोगशालामा आयोजित कार्यक्रमबीच अविनाश ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई मेशिन हस्तान्तरण गरेका हुन् ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष समेत रहेका विष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत अविनाश ग्रुपले मेशिन हस्तान्तरण गरेको बताए । ‘भरतपुर अस्पतालमा अटोमेटिक पिसिआर मेशिनको तत्काल आवश्यकता थियो । तर सरकारी प्रक्रियाबाट खरिद गर्दा ढिलो हुने भएका कारण अविनाश ग्रुपले मेशिन सहयोग गरेको हो’ उनले भने । जर्मनीबाट मगाइएको उक्त मेशिनलाई यहाँसम्म ल्याइपुर्‍याउँदा ४० लाखको हाराहारीमा खर्च भएको उनले बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले अटोमेटिक पिसिआर मेशिन हस्तान्तरण गरेकोमा अविनाश ग्रुपलाई धन्यवाद दिँदै सबै क्षेत्रको सहकार्यबाट नै यस कोरोना माहामारीलाई परास्त गर्न सकिने बताइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी दाहालले अटोमेटिक पिसिआर मेशिनको महसुश गरी अविनाश ग्रुपलाई सहयोगको प्रस्ताव गर्दा सहजै स्वीकार गरेको बताइन् । तत्काल मेशिनको आवश्यकता भएको र सरकारी प्रक्रियाबाट खरिद गर्दा ढिलो हुने भएकाले निजी क्षेत्रको सहयोग मागेको उनले बताइन् । कुरा गरेको एक हप्तामै अविनाश ग्रुपले पिसिआर मेशिन ल्याएको उनले बताइन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोनाको माहामारीका बेला अटोमेटिक पिसिआर मेशिन सहयोग गरेर अविनाश पोल्ट्री ग्रुपले ठूलो सहयोग गरेको बताए । अहिले मेनुअल पिसिआर मेशिनबाट रिपोर्ट दिन ढिला भइरहेको भए पनि अब केही छिटो हुने उनले बताए । अझै छिटो गर्नका लागि अझै एउटा आरएनए एब्स्ट्य्राक्सन मेशिन अटोमेटिक आवश्यक रहेको र सो मेशिन ल्याउने प्रक्रियामा रहेको डा. अधिकारीले बताए ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले प्रयोगशालाको स्थापनापछि हालसम्म २३ हजारभन्दा बढी नमूना परिक्षण गरिएको बताइन् । जसमध्ये चितवनका १८ हजार रहेका छन् । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । 

कार्यक्रममा भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, पोल्ट्री व्यवसायीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।