वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

रासस

मंगलबार, ०२ भदौ २०७७, १७ : ४४
वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

फाइल तस्विर

काठमाडौं । अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

उनका अनुसार अहिले वाग्मती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघ गर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको छ । साँझ पछि केही कम हुने र राति फेरि अर्को बादल विकसित भई मनसुनी वर्षा गराउनेसमेत उनले बताइन्  ।

कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक दुई स्थानमा वर्षा भएको छ ।  

देशका केही स्थानरुमा मेघगर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको हुने र उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस