वीरगञ्जका अस्पतालले भर्ना नलिएपछि अन्ततः गयो युवतीको ज्यान

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १५ : ४२
वीरगञ्जका अस्पतालले भर्ना नलिएपछि अन्ततः गयो युवतीको ज्यान

वीरगञ्ज । वीरगञ्जका अस्पतालहरु कोरोना भाइरसको आशंकामा बिरामीलाई भर्ना लिन छाडेका छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण बनेकी छन् वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया विष्णु लामा । उनको अस्पतालले भर्ना नलिँदा नै मृत्यु भयो । रातभरि वीरगञ्जका अस्पतालहरु चाहारिन्, तर कसैले भर्ना लिएनन् । 

बल्ल बल्ल एक अस्पतालले उनलाई भर्ना लिएको थियो, उपचार गर्न नपाउँदै उनको निधन भयो । ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई आफन्तले अटोमा हालेर अस्पताल लगे, तर अस्पतालहरुले कोरोनाको आशंकामा भर्ना नै लिएनन् ।

वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि उनी कोरोना विशेष अस्पताल, गण्डक पुगेकी थिइन्, जहाँ शनिबार बिहान २ बजे उनको निधन भयो । लामालाई शुक्रबार राति १० बजेको समयमा स्वास प्रस्वासमा समस्या आएको थियो ।  उनका भिनाजु रुपेश सिंहका अनुसार रातकै समयमा सुरुमा बिरामीलाई वीरगञ्जको एडभान्स अस्पताल लगिए,  त्यहाँ उपचारको लागि आईसीयू खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न मानेन । 

त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगियो, त्यहाँबाट पनि अस्पतालले भर्ना लिन मानेन । बिरामीलाई गाह्रो हुँदै गयो । बयोधा अस्पतालका डाक्टरहरुले कोरोनाको लक्षण देखिएका बिरामीको यहाँ चेकजाँच हुन नसक्ने भनेर फर्काए । 

‘बयोधाबाट फर्केपछि बिरामीलाई वीरगञ्जकै अर्को एक निजी अस्पताल तराई अस्पतालमा लगियो। रातभरि नै अटोमा हालेर वीरगञ्जका अस्पताल चाहार्दा पनि भर्ना लिएनन्’ युवतीका भिनाजु रुपेशले भने, ‘स्वास प्रस्वासमा समस्या छ भनेपछि आइसीयू नभएको भन्दै गेटबाटै फर्काइदिएको हो । 

त्यसपछि सरकारी अस्पताल नारायणीमा बिरामी लगियो । तर नारायणीमा पनि उनलाई भर्ना नगरिएपछि वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यसले पनि गेटबाटै बिरामीलाई फिर्ता पठायो । समयमै उपचार नपाउँदा बिरामीको अवस्था जटिल बन्दै गयो । 
युवतीका भिनाजु रुपेशका अनुसार अटोमा बिरामी सालीलाई हालेर रातभरि वीरगञ्जका अस्पताल चाहार्दा उपचार मिलेन । रातको २ बज्नै लाग्दा फेरि गण्डक अस्पताल लगियो । धेरै भनसुन गर्दा गण्डक कोभिड अस्पतालले भर्ना त लिँदा रातको दुई बज्यो । अन्ततः उपचार नै नपाएर युवतीको मृत्यु भयो । 

कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा सालीको ज्यान गएको भिनाजु रुपेश बताउँछन् । यो त प्रतिनीधि घटना मात्रै हो, यसअघि पनि अस्पताल डुलाउँदा डुलाउँदै, वीरगञ्जमा अर्का विरामीको मृत्यु भएको थियो । महामारीको बेला ढोका बन्द गर्ने अस्पतालहरुलाई कारबाही गर्नुपर्ने माग यतिबेला वीरगञ्जमा उठ्न थालेको छ ।  
 

प्रतिक्रिया दिनुहोस