सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध, विस्थापितहरु विद्यालयमा

घरमा आगो लगाउनु अमानवीय काम : मेयर ढकाल, आगो लगाएका छैनौँ : वार्डेन रुपाखेती

सूर्यप्रकाश कँडेल

मंगलबार, ०६ साउन २०७७, १५ : ०७
सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध, विस्थापितहरु विद्यालयमा

फाइल फोटो

चितवन । माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो । चितवन राष्ट्रिय निकुञ्जबाट गएको टोलीले बर्खाको बेला सुकुम्बासी बस्तीमा गरेको उक्त घटना अमानवीय कार्य भएको भन्दै सर्वत्र विरोध भएपछि निकुञ्जका वार्डेन नारायण रुपाखेतीले अहिले आएर सुकुम्बासीका घरमा आगो नलगाइएको दाबी गरेका छन् ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल निकुञ्ज प्रशासनबाट दुई घरमा आगो लगाउने र आठ घर हात्ती लगाएर भत्काउने निकृष्ट र अमानवीय काम भएको बताउँछन् । ‘२०५३ सालदेखि त्यस ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी चेपाङलाई स्थानीय सरकार र सरोकारवाला कसैसँग समन्वय नगरी उठीबास लगाउने काम भएको छ’ मेयर ढकाल भन्छन्, ‘उनीहरुका लत्ताकपडा, भाँडाकुँडा, महत्वपूर्ण कागजपत्र र निमेक गरेर कमाएको रकमसमेत नष्ट भएका छन् । हामीले सरकारसँग सुकुम्बासी चेपाङहरुको उचित व्यवस्थापन होस् भनी सरकारको ध्यानाकर्षण गराएका छौँ ।’ विकल्प नदिइकनै सुकुम्बासीलाई घरबारविहीन बनाउनु अमानवीय काम भएको उनको धारणा छ । बिस्थापित १० घरका बासिन्दालाई माडी नगरपालिका ९, राइटोलमा रहेको विद्यालयमा राखिएको मेयर ढकालले जानकारी दिए । 

उनका अनुसार, कुसुमबस्तीमा २०५३ सालदेखि सुकुम्बासीहरु बस्दै आएका छन् । निकुञ्ज प्रशासनले दानबहादुर चेपाङ र दीपबहादुर चेपाङको घरमा आगजनी गरेको उनले बताए । कुसुमखोलामा १० घरमा सुकुम्बासी बस्दै आएका थिए । माडी नगरपालिका ९, बाँदरझुलामा करिब पाँच सय घर सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । यी दुबै सुकुम्बासी बस्ती उठाउन निकुञ्ज प्रशासनले बेलाबेलामा दुःख दिँदै आइरहेको माडीवासीको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन नारायण रुपाखेती सुकुम्बासीका घरमा आगजनी नगरिएको दाबी गर्छन् । निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बसेका केही घर हटाउन बल प्रयोग गर्दा गोठ र टौवा भत्किएपनि घर नै जलाउने काम नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘केही गोठ र टौवा भत्किएका होलान् तर बस्तीभित्र आगो लगाउने काम भएको छैन ।’

निकुञ्ज प्रशासनले सुकुम्बासी बस्तीमा रहेका केही घर भत्काउने र दुई घरमा आगजनी गर्ने काम गरेको भन्दै चितवनमा रहेका प्रमुख राजनीतिक दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली काङ्ग्रेसले छुट्टाछ्ट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्र्सना गरेका छन् । जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले समेत विज्ञप्ति जारी गर्दै निकुञ्ज प्रशासनको निन्दनीय कार्य भनी खेद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस