भारतीय सञ्चार माध्यमका भ्रामक समाचारप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १३ : ५३
भारतीय सञ्चार माध्यमका भ्रामक समाचारप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

काठमाडौं । भारतीय सञ्चारमाध्यमबाट नेपाल र नेपालीविरुद्ध आपत्तिजनक, भ्रामक र अराजक सामाग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले  चासो देखाएको छ । 

भारतीय टिभी च्यानलहरुबाट नेपाल र नेपालीविरुद्ध फैलाइएको भ्रामक समाचारबारे त्यहाँको काउन्सिलसँग सरोकार राखेको काउन्सिलका कार्यबाहाक अध्यक्ष किशोर श्रेष्ठले बताएका छन् ।

‘भारतीय टिभी च्यानलहरुबाट अपुष्ट, अक्षम्य, आपत्तिजनक, भ्रामक र अराजक सामग्री प्रशारणमा बढोत्तरी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष श्रेष्ठले बताए । 

उनले फेसबुकमार्फत एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र नपर्ने भन्दै त्यो पत्रकारिता नभई गालिकारिता र पर्चाकारिता भएको बताएका छन् । ‘यसबारे हामीले समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेका छौं तर विद्युतीय मिडिया उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनपर्ने कानूनी व्यवस्थाको कारण त्यहाँ समस्या छ !’

श्रेष्ठले भनेका छन् ‘युट्युबलगायत नेपालमा डोमेन नरहेका यस्ता च्यानलहरुबाट हुने आपत्तिजनक सामग्री प्रशारणको नियमनका निम्ति हामीले दुई महिनाअघि नै नेपाल सरकारलाई बैधानिक ब्यवस्था मिलाउन पत्राचार गरेका हौं तर सरकार आफैले किन फाइल थन्क्याएर अराजकतालाई आमन्त्रण गरेको हो, यसबारे अन्जान छौँ ।’

भारतीय मिडियामार्फत निरन्तर आपत्तिजनक सामग्री प्रकाशन हुँदै आएकोमा चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस