एकाएक किन सक्रिय भइन्, चिनियाँ राजदुत ?

माधव नेपालसँग गोप्य भेटघाट

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, ०८ : ४६
एकाएक किन सक्रिय भइन्, चिनियाँ राजदुत ?

काठमाडौं । चिनियाँ राजदुत हाउ यान्छीको एकाएक सक्रियता बढेको छ । नेपालको सत्ताधारी दल नेकपाको आन्तरिक राजनीति किचलो बढदै गर्दा उत्तरी छिमेकी मलुक चीनको नेपालस्थित राजदुत सक्रिय हुन थालेकी हुन् । उनले नेकपाको सम्भावित विभाजन रोक्नका लागि दौडधुप गर्न शुरु गरेको चर्चा राजनीतिक वृत्तमा छ । 

नेकपाको जारी स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा (बादल) लगायतका नेताहरु प्रधानमन्त्री ओलीसँग सन्तुष्ट छैनन् । बादल बाहेक अन्य नेताहरुले ओलीले पार्टी अध्यक्ष र सरकार प्रमुख (प्रधानमन्त्री) दुवबाट राजीनामा दिनुपर्ने अडान लिईरहेका छन् । 

ओली भने बरु पार्टी फोड्ने, विपक्षी काँग्रेससँग मिलेर सत्तारोहण गर्ने तर पार्टीका बहुमत नेताहरुको मागलाई बेवास्ता गरेर जाने नीतिमा अडिग रहेपछि नेकपा कतै विभाजन त हुदैन भन्ने चर्चा राजनीतिक वृत्तमा छ । यही नेकपाभित्रको पेचिलो राजनीतिका बीचमा चिनियाँ राजदुत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार वेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन् । भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ । तर कुराकानी के भए भन्ने बारे बताएको छैन् । 

राजदुत हाउले आइतबार बेलुकी ९ बजे पछि नेपाललाई भेटेकी हुन् । भेटमा उनले नेता नेपाललाई राजनीतिमा सुझबुझपूर्ण निर्णय लिन सक्ने, राष्ट्रिय अन्तराष्ट्रिय घटनाक्रमका बारेमा जानकार रहेको र वरिष्ठ नेता समेत भएकोले आफनो भूमिकामा नेता नेपाल सदैव सचेत रहेको भन्दै घुमाउरो शैलीमा नेकपाको एकता जोगाउन उनले अपिल गरेको निकट स्रोतहरु बताउँछन् ।  चीन अहिले नेपालमा राजनीतिक दलहरु विभाजनको पक्षमा छैन् । स्थिर नेपालको पक्षमा चीन उभिदै आएको छ ।

त्यही कारण पनि चीनले नेकपाको विभाजनमा खास चासो राखेर सक्रियता बढाउन थालेको चर्चा शुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालन कार्यशैली बेठीक भएपनि पार्टीभित्रकै आन्तरिक छलफल र बहसबाट कुनै उपयुक्त निकास निकाल्न तर यही लाई लिएर पार्टी विभाजनको बाटोमा भने नलैजान चीनको नेपालका नेताहरुलाई बेलाबेला सुझाव आईरहेको चर्चाका बीच राजदुत यान्छीको सक्रियता बढेको हो ।  नेकपामा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री ओली अर्काेतिर भईरहदा शक्ति संर्घष चर्किरहेको छ ।

ओली र प्रचण्ड बीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निश्र्कषमा नपुगेपछि दिउँसो प्रचण्डसँग छलफलको ब्रिफिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए । त्यसपछि नै राजदुत यान्छीले नेपालसँग भेट गर्न चाहेकी थिइन् । राजदुत यान्छी नेपाल भेटन पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अगाडी गत वैशाख १७ मा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन चिनियाँ राजदुतले भूमिका खेलेको आरोप लाग्दै आएको थियो । त्यसबेला पनि राजदुत यान्छीले प्रधानमन्त्री देखि नेपाल र प्रचण्डसम्मलाई भेट गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि त्यसवेला उनको भेटघाट भएको थियो । वैशाख १९ गते नेपाल लाई भेटेर प्रचण्डसँग राजदुत यान्छीले भेट गरेकी थिइन् । त्यसपछि २० बैशाखको नेकपा सचिवालय बैठकमा नेताहरुले एक आपसमा आत्मआलोचना गर्दै कमीकमजोरी सच्याएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए । यसपटक पनि विवाद चरम उत्र्कषमा पुगेका बेला राजदुतको आइतबारबाट बढ्न थालेको सक्रियता अर्थपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस