कोभिड–१९ विरुद्ध सरकारले १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त ?

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १३ : ०९
कोभिड–१९ विरुद्ध सरकारले १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ का लागि खर्च गरिएको १० अर्ब हराएको, ओम्नी घोटालामा कारवाही नभएको भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेका छन् ।

‘सरकारले कोभिड–१९ विरुद्ध १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त ? नगरपालिका, गाउँपालिकालाई खर्च धान्न किन धौधौ ? विदेशबाट फर्कनेहरू बिना परीक्षण किन घर पुगीरहेका छन् ? खान नपाएर जनता किन बेहाल छन् ?’ अध्यक्ष राणाले सोमबार ट्वीट गर्दै भने ।

यसै सन्दर्भमा उनले जोड दिँदै भने, ‘हेलो सरकार, त्यसैले १० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं ।’

कोरोना प्रकोप र भ्रष्टाचार विरुद्धको सरकारको नीति र प्राथमिकता सही भएन भन्ने राप्रपा अध्यक्ष राणाको टिप्पणी छ । सरकार पूर्ण अल्मलिएको भन्दै, यसमा रहस्य के हो भनेर उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘सरकारको नीतिले संक्रमण बढेन, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले यही रट लगाए । समय छँदा यस्तै आत्मप्रशंसामा रमाए । हाल संक्रमण ठाडो उकालो गतिमा छ । जनता बन्दाबन्दी तोड्दै छन् । चुनौतिको पहाड छ,’ उनले भने ।

‘कम्तिमा ओम्नी घोटालामा कारवाही गरे हुने । तर राज के हो प्रधानमन्त्रीज्यू, सरकार पूर्ण अल्मलिएको छ,’ राणाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस