कोरोना कोषमा २ अर्व २९ करोड भन्दा बढी रकम , अहिलेसम्म खर्च नै भएन

पत्रपत्रिकाबाट

मंगलबार, १३ जेठ २०७७, ०७ : ०४
कोरोना कोषमा २ अर्व २९ करोड भन्दा बढी रकम , अहिलेसम्म खर्च नै भएन

फाईल फोटो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्व २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ। 

कोरोनाको जोखिम नेपालमा बढेपछि कोरोनाको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो।  

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभूत औषधी, उपकरण तथा सामाग्रीको चरम अभाव देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन। स्थानीय तहहरु स्रोतकै अभावका कारण व्यापक परीक्षण हुन नसकेको, स्रोतको अभावमा आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण, उद्धार एवं उपचार सामाग्रीको अभाव झेल्नु परेको बताइरहे पनि सरकारले उपचारकै लागि खडा गरेको कोषमा जम्मा भएको रकम भने खर्च हुन नसकेको हो।  

सरकारले गत चैतमा कोरोना रोकथाम र नियन्त्रणका लागि कोष खडा गरेको थियो। जसमा सरकारका सवै पदाधिकारीहरु, सांसदहरु, कर्मचारीहरु, निजी क्षेत्र, विदेशमा रहेका नेपालीहरु लगायत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले रकम जम्मा गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कोषमा हालसम्म २ अर्व २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको बताए। उनले सरकार आफैले कोरोना नियन्त्रण, रोकथामका लागि ९ अर्वको हाराहारीमा खर्च भैरहेको आए पनि कोषमा जम्मा भएको रकम भने खर्च नभएको बताए। ‘खर्च गर्ने निकाय बजेटमा व्यस्त छन्, अलि अलि खर्च भएको भन्ने त सुनेको हो तर त्यसको डिटेल आइपुगेको छैन,’पौडेलले नागरिकसँग भने ‘सरकारले कोभिडका नाउँमा खर्च गर्ने विषय एउटा पाटो भयो, कोषको पैसा खर्च नगरे पनि सरकारले काम गरिरहेको छ, कोषमा जम्मा भएको पैसा कसरी खर्च गर्ने भन्ने छलफल भैरहेको छ, भोली (मंगलबार) सम्म यस विषयमा थप केही आउला।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस