जनता समाजवादीमा कसरी मिल्दैछ भागवन्डा ?

१७ सदस्यीय सचिवालय, ५१ सदस्यीय कार्यकारी समिति र १५१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी तयारी

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १० : ११
जनता समाजवादीमा कसरी मिल्दैछ भागवन्डा ?

काठमाडौं । तीन वर्ष यता पार्टी एकताको प्रयास गर्दा सफल हुन नसकेको मधेस केन्द्रीत दल प्रधानमन्त्रीले पार्टी विभाजन अध्यादेश ल्याएपछि १० वैशाखको मध्यरातमा एकाएक पार्टी एकताको निर्णयमा पुगेका थिए । राजपा र समाजवादी पार्टी एकताको घोषणा पछि पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) राख्ने निर्णय दुई पार्टीले गरेका थिए । यसको जानकारी निर्वाचन आयोग देखि संसद सचिवालय सम्म उनीहरुले गराईसकेका छन् ।

तर पार्टीको संगठनात्मक संरचना लगायतका विषयमा भने कुनै टुंगो लगाएका थिएनन् । अहिले लकडाउनको मौका छोपेर चुपचाप यो पार्टी एकताको संगठनात्मक मोडेल तय गर्न छलफलमा छ । एकीकृत पार्टीमा ८ जनाको निर्देशक समिति बनाउने, पार्टीको वरियतामा कुन नेता कँहा रहने जस्ता विषयमा छलफल केन्द्रीत छ । जनता समाजवादीका एक नेताका अनुसार, निर्देशक समिति, सचिवालय, केन्द्रीय कार्यकारिणी समिति लगायतमा को को नेता रहने भन्नेमा अहिले नेताहरुले गृहकार्य गरिरहेका छन् ।

उसले १७ सदस्यीय सचिवालय, ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १२५ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने विषयमा छलफल गरिरहेको ती नेताले बताए । सचिवालयमा समाजबादीले आफनो तर्फबाट ९ र राजपाबाट ८ जना राखेर बनाउनु पर्ने प्रस्ताव समाजवादीको छ । तर ठीक उल्टो राजपाको पनि आफनो तर्फबाट ९ र समाजवादीका तर्फबाट ८ जना रहने गरी सचिवालयको प्रस्ताव गरेको छ । एक जना बढी कसले लिने भन्नेमा दुई पार्टीबीच टुंगो लागिसकेको छैन् । राजपाका अध्यक्ष मण्डलका ६ सदस्य मध्ये दुईजना पार्टी एकीकरण बैठकमा सहभागी थिएनन् । त्यतिबेला बैठकमा उपस्थित नभएका अनिलकुमार झा, राजकिशोर यादवलाई पनि सचिवालयमा समेटने गरी छलफल जारी छ ।

सचिवालयमा एकीकरणमा हस्ताक्षर गरेका चारजना र नवराज सुवेदी, परशुराम खापुङ्ग, युवराज कार्की, रकम चेम्जोङ र रेणुकुमारी यादव सचिवालयमा राख्ने विषयमा छलफल जारी छ । तर यादव पार्टी विभाजनमा लागेको र उनको भूमिका पार्टी एकतामा कुनै नरहेको आरोप लागेपछि उनलाई समेटने नसमेटने विषयमा समाजवादीभित्रै विवाद छ । उनको साटो हिशिला यमी वा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई समेटनु पर्ने आवाज उठेको छ ।

तर यस विषयमा समाजवादीले अन्तिम छिनोफानो लगाईसकेको छैन । पहिले संख्यामा कुनले कति पाउने भन्ने तय गर्ने र त्यसपछि नामका विषयमा छलफल गर्ने की भन्नेमा समाजवादीका नेताहरु देखिन्छन् । राजपाले ९ सदस्य पाउँदा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, राजकिशोर यादव र वृषेशचन्द्र लाल सचिवालयमा लैजानेकी भन्नेमा राजपाभित्र बहस छ ।  केन्द्रीय समितिमा रहेका दुवै तर्फका नेताहरुको सबैलाई समेट्दा जम्बो केन्द्रीय समिति बन्ने र त्यसको कुनै औचित्यता नहुने भएपछि सानो संख्याको केन्द्रीय समिति बनाउने तयारी जनता समाजवादीले गरेको छ ।

त्यसो गर्दा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १२५ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने विषयमा छलफल छ । तर त्यसमा पनि कुन पक्षले कति कोटा लिने भन्नेमा संख्या टुंगो लागेको छैन । यसमा पनि छलफल जारी रहेको नेताहरुको भनाई छ । वरियताको पहिलो नम्बरमा भने महन्थ ठाकुर र दोश्रो नम्बरमा डा. बाबुराम भट्टराई हुनेमा सर्वसहमति जस्तै बनेको छ ।

तर उनीहरुको भूमिकालाई कसरी परिभाषित गर्ने त्यसपछि तेश्रो वरियता देखि कुन नेतालाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा अझै सहमति जुटेको छैन् । उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव लगायत नेताहरुको ब्यवस्थापनमा सकस छ । वरियतामा यी नेताहरुले आफुहरुलाई एक भन्दा आफ्नो अगाडी हुनुपर्ने पक्षमा वकालत गरिरहेका कारण समस्या आएको जनता समाजवादीका एक नेताले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस