साउदी अरबले भन्यो : आवासबाहिर भेला हुने श्रमिकलाई ५० हजार रियाल जरिवाना

शनिबार, २७ बैशाख २०७७, १० : ४४
साउदी अरबले भन्यो : आवासबाहिर भेला हुने श्रमिकलाई ५० हजार रियाल जरिवाना

एजेन्सी । कोरोना सन्त्रासका कारण साउदी सरकारले आवासभन्दा बाहिर भेला हुने श्रमिकहरुलाई ५० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको छ। 

साउदीको आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी गर्दै कुनै पनि श्रमिकलाई आफ्नो आवासभन्दा बाहिर भेला नहुन आग्रह गरेको छ। यसको बेवास्ता गर्ने कडा कारवाही गर्ने सरकारले स्पष्ट पारेको छ ।  श्रमिकहरु बसिरहेको आवासभन्दा बाहिरका आवासीय भवन, बन्दै गरेका भवन, फार्महरुमा भेला भएको पाइएमा ५० हजार रियालसम्म जरिवाना गर्ने जनाएको छ। निर्देशनको अवज्ञा भएमा अन्य सजायसमेत हुने उक्त निर्देशनमा उल्लेख छ।

साउदी सरकारको निर्देशनविपरीत कुनै पनि कार्य नगर्न साउदीस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ। पछिल्लो समय साउदीमा कोरोना संक्रमण बढ्दै गएको छ। हालसम्म ३५ हजार ४ सय ३२ लाई कोरोना संक्रमण भएको छ। २ सय २९ जनाको ज्यान गएको छ ।

साउदीमा आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएको दूतावासले जनाएको छ। गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदीमा ३४ नेपालीलाई कोरोना संक्रमण भएको छ । 

प्रतिक्रिया दिनुहोस