कोरोनो संक्रमण भारतमा बढ्दो, २४ घंटामै १ सय ६ को मृत्यु, अहिले सम्म ५६ हजार भन्दा बढीमा संक्रमण

शुक्रबार, २६ बैशाख २०७७, १० : २१
कोरोनो संक्रमण भारतमा बढ्दो, २४ घंटामै १ सय ६ को मृत्यु,  अहिले सम्म ५६ हजार भन्दा बढीमा संक्रमण

एजेन्सी । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास छिमेकी मुलुक भारतमा पनि दिनप्रति दिन संक्रमण मृत्युको दर बढदैं गएको छ । बिहीबार मात्रै (कोभिड १९) को संक्रमणका कारण १ सय ६ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १ हजार ८ सय ९० पुगेको छ भने पछिल्ला २४ घंटामा  सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ ।  मुम्बईमा अहिलेसम्म ६ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यस्तै गुजरातमा बिहीबार २९ जनाको मृत्यु भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या ४ सय २५ पुगेको छ । 

मध्य प्रदेशमा ८, पश्चिम बंगालमा ७, राजस्थानमा ६ उत्तर प्रदेश, तमिलनाडु, दिल्ली र आन्ध्र प्रदेशमा दुई–दुईजनाको बिहीबार मात्रै मृत्यु भएको छ । यस्तै पञ्जाब, कर्नाटक, हरियाण र जम्मु कश्मीरमा १–१ संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण भारतमा एक पत्रकारको पनि मृत्यु भएको छ। आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको हो ।

उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको हो । भारतमा कुल संक्रमण हुनेको संख्या ५६ हजार ३ सय ८३ पुगेको छ भने अहिले सम्म १ हजार ८ सय ८९ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस